नारायणी नदीको कटान नियन्त्रणका लागि मझुवामा बिग बोल्डर राखिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (१ घण्टा अघि)
  • ६२ पटक पढिएको
नारायणी नदीको कटान नियन्त्रणका लागि मझुवामा बिग बोल्डर राखिँदै

काठमाडौं, १७ भदौ। पछिल्लो समय नारायणी नदीले चितवनको भरतपुर महानगरपालिका- १७ मझुवामा तीव्र रूपले कटान गरेपछि त्यसलाई रोक्न बिग बोल्डर (ठूलठूला ढुंगा) राख्ने काम सुरु गरिएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरका प्रमुख डा. नारायण सुवेदीले नारायणीले मझुवामा झन्डै ३ सय मिटर खण्ड कटान गरेपछि बिग बोल्डर राखेर अस्थायी रूपमा कटान नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।

‘ढुंगा पाउनै मुस्किल छ, गैंडाकोट, राप्ती लगायत क्षेत्रमा सीडीओ सा’वसहित गएर पालिकाहरूलाई अनुरोध गरेर बल्लतल्ल ढुंगा खोजेर ल्याउने र हाल्ने काम गरेका छौं,’ उनले भने, ‘अझैं ल्याउने काम बाँकी नै छ ।’

आयोजना प्रमुख डा. सुवेदीका अनुसार नदीले झन्डै २५ देखि ३० मिटर भित्र छिरेर कटान गरिसकेको छ ।

विपद् व्यवस्थापनका विज्ञसमेत रहेका डा. सुवेदीले कटान जारी रह्यो भने पश्चिम चितवन नै दुईखण्ड बनाइदिने खतरा रहेको बताए ।

आयोजनाका इन्जिनियर शैलेन्द्र विष्टका अनुसार हालसम्म ३८ ट्रिप ढुंगा साइटमा झरिसकेको छ । हिजो मात्रै २३ ट्रिप ढुंगा ल्याइएको र केही ढुंगा खोलामा हालेर नदीको बेगलाई रोक्ने प्रयास भैरहेको इन्जिनियर विस्टले जानकारी दिए ।

कानुनमन्त्री सोबिता गौतमको सचिवालयबाट पनि ढुंगाको व्यवस्थापनका लागि सहजीकरण गरिएको थियो ।

अहिले १५ मिटर भन्दा बढी भागमा ढुंगा हालेर नदीको मुख्य धारलाई रोक्ने काम गरिएको उनले बताए ।

आरसीसी प्रकुपाइन लगायतका कामहरूसमेत गरिने उनले जानकारी दिए ।

आयोजनाले यो खण्डमा काम आपतकालीन व्यवस्थापनका लागि भन्दै गत असारमा ठेक्का लगाएको थियो । पशुपति निर्माण सेवा प्रालि भरतपुर-१० ले ८ करोड २४ लाख ६७ हजारमा ठेक्का सम्झौता गरेर काम थालेको हो ।

नारायणी नदीको कटान जोखिम रहेको ठाउँ तथा यसअघि काम हुन बाँकी रहेको स्थानमा नदी नियन्त्रणका विभिन्न काम गर्न भनेर पशुपति निर्माण सेवाले ठेक्का पाएको थियो ।

२०८४ जेठ २५ गतेसम्म काम सक्ने गरी निर्माण कम्पनीले ठेक्का पाएको हो । आयोजनाका इन्जिनियर डा. सुवेदीका अनुसार पश्चिम चितवनमा अब करिब साढे १० किलोमिटर जति खण्डमा नदी नियन्त्रणको काम हुन बाँकी छ । बाँकी भागमा नदी नियन्त्रणका लागि विभिन्न काम भइसकेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस