पक्राउ परेका सीडीओ रिजालविरुद्धका मुख्य आरोप सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (३ हप्ता अघि)
  • १४३ पटक पढिएको
पक्राउ परेका सीडीओ रिजालविरुद्धका मुख्य आरोप सार्वजनिक

काठमाडौं, १७ चैत। जेनजी आन्दोलन भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि तेस्रो नम्बरमा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।

उनलाई प्रहरीले मंगलबार बिहान काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको हो । भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा घातक बल प्रयोग हुँदा भएको मानवीय क्षतिको जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगको सिफारिस अनुसार उनलाई पक्राउ गरिएको हो।

गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले सो घटनामा तत्कालीन प्रजिअ रिजाललाई दोषी किटान गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै आन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक यसअघि नै पक्राउ परेर अदालतबाट ५ दिन म्याद थप भइसकेको छ।  यस्तै रिजालले बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।

जाँचबुझ आयोगको प्रतिवेदनअनुसार तत्कालीन प्रजिअ रिजालमाथि मुख्यतया पदीय जिम्मेवारीमा गम्भीर ‘हेलचेक्र्याइँ’ गरेको आरोप छ। बानेश्वरमा झण्डै चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा र प्रदर्शनकारीहरूको ज्यान जाँदा पनि प्रजिअको हैसियतमा गोली रोक्न वा स्थिति सामान्य बनाउन उनले कुनै प्रभावकारी पहल नगरेको आयोगको ठहर छ।

 त्यस्तै, कर्फ्यु आदेश जारी गरिसकेपछि पनि सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गराउन नसकेको र बल प्रयोगको सिद्धान्त पालना गराउन पूर्ण रूपमा असफल भएको प्रतिवेदनमा औँल्याइएको छ। अधिकारीहरूकै पूर्ण हेलचेक्र्याइँका कारण मानवीय क्षति हुन पुगेको निष्कर्ष निकाल्दै आयोगले रिजाललगायतमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ को उपदफा (१) अनुसार कानुन बमोजिम अनुसन्धान गरी अभियोजन गर्न सरकारलाई सिफारिस गरेको थियो।

यद्यपि, पक्राउ परेका रिजालले भने आयोगसमक्ष दिएको बयानमा आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नदिएको दाबी गरेका थिए। संसद भवनलाई जोगाउने र प्रदर्शनमा उत्रिएका युवाहरूको ज्यानको पनि सुरक्षा गर्ने ‘डुअल अब्जेक्टिभ डक्ट्रिन’ अनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा घुँडाभन्दा तल लक्षित गरी रबरको गोलीसम्म चलाउने मौखिक आदेश मात्र दिएको उनको जिकिर थियो।

भदौ २३ गते प्रदर्शनकारी संसद भवनतर्फ बढ्दै गएपछि तत्कालीन गृहमन्त्री, मुख्यसचिव र गृहसचिवलाई जानकारी गराएर उनीहरूकै निर्देशनमा साढे १२ बजेदेखि कर्फ्यु लगाएको उनले बयानमा खुलाएका थिए। आफूले सुरक्षाकर्मीलाई संयमता नछाड्न र मानवअधिकारको ख्याल गर्न निरन्तर निर्देशन दिएको भन्दै उनी जिम्मेवारीबाट पन्छिन खोजे पनि आयोगले भने उनलाई उक्त जघन्य घटनाको जिम्मेवारीबाट मुक्त राख्न नसकिने स्पष्ट पारेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस