पर्सामा २३ लाखभन्दा बढीका अवैध सामान र सवारीसाधन बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (१ महिना अघि)
  • ८१ पटक पढिएको
पर्सामा २३ लाखभन्दा बढीका अवैध सामान र सवारीसाधन बरामद

वीरगञ्ज, १५ असार। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरेको छ ।

आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी सिरसिया नदी किनारको झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा ७ लाख ७२ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

सोही दिन इनरुवा र कोनिया नाकामा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरको किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी र स्याउ बरामद गरेको छ । उक्त सामान ओसारपसारमा प्रयोग भएका १ थान ई–रिक्सा र १ थान साइकल समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।

त्यसैगरी, असार १३ गते शनिवार वीरगञ्ज महानगरपालिका–१६, १७ र २१ अन्तर्गत इनरुवा, कोनिया, परवानीपुर तथा अलौ क्षेत्रबाट खटिएको टोलीले १० लाख ८४ हजार ४ सय रुपैयाँ बराबरका कपडा, मोबाइल टेम्पर्ड ग्लास, किराना सामान, फलफूल लगायतका सामग्री बरामद गरेको थियो । सो क्रममा ओसारपसारमा प्रयोग भएका १ थान टेम्पो, १ थान मोटरसाइकल र ३ थान साइकल समेत नियन्त्रणमा लिइएको थियो । सामान तथा सवारी साधन असार १४ गते भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसरी विभिन्न मितिमा बरामद भएका अवैध सामान तथा सवारी साधनको कुल अनुमानित मूल्य २३ लाख ९ हजार ३ सय ५ रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस