प्रभु साहको नियुक्ति निर्णयमाथि आपत्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २, सोमबार (१ महिना अघि)
  • २३७ पटक पढिएको
प्रभु साहको नियुक्ति निर्णयमाथि आपत्ति

रौतहट, ०२ चैत। आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले हालै गरेका राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै साहले सुशीला कार्की नेतृत्वको सरकारले आफ्ना निकट व्यक्तिहरूलाई राज्यका महत्वपूर्ण निकायमा नियुक्त गर्ने निर्णय गर्नु सुशासनको मर्मविपरीत भएको टिप्पणी गरेका छन्।

उनले निर्वाचन सम्पन्न गराएर बहिर्गमनको चरणमा पुगेको सरकारले सुशासन र पारदर्शितामा धक्का पुग्ने गरी राजनीतिक नियुक्ति गर्नु निन्दनीय र आपत्तिजनक भएको बताएका छन्।
अध्यक्ष साहले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओम प्रकाश अर्याल मन्त्रिपरिषद्बाट राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस हुनु पनि लाजमर्दो विषय भएको टिप्पणी गरेका छन्।

त्यसैगरी प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शिताको उपहास भएको साहको भनाइ छ।

यसअघि पनि जेन–जी आन्दोलनका शहीद परिवारको नाममा आफ्नै परिवारका सदस्यलाई जागिर दिलाएको आरोप लागेको स्मरण गर्दै उनले यस्तो निर्णयले आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको बताएका छन्।

साहले जेन–जी आन्दोलनको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदन सार्वजनिक नगरी आफ्ना निकट व्यक्तिहरूलाई राज्यका निकायमा नियुक्त गर्न व्यस्त हुनु लज्जास्पद भएको बताएका छन्।

उनले प्रधानमन्त्री कार्कीलाई ती दुवै निर्णय तत्काल फिर्ता लिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस