
काठमाडौं, २३ भदौ। बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
केन्द्रले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त रकम केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेकी थिइन्।
यसैबीच, ब्रह्माकुमारी नेपालले भदौ २० गते शनिबार भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो।
ललितपुरको सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी तपस्वी प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमार सहभागी थिए।
कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग–तपस्या, मौनधारण तथा दीप प्रज्वलन गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनको शान्ति र धैर्यका लागि प्रार्थनासमेत गरिएको थियो।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटको त्रिशूली र देवीघाट तथा धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
