बाढी प्रभावितको उपचारमा स्वास्थ्य मन्त्रालय सक्रिय, वीर–टिचिङ–ट्रमालाई तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (४५ मिनेट अघि)
  • ३० पटक पढिएको
बाढी प्रभावितको उपचारमा स्वास्थ्य मन्त्रालय सक्रिय, वीर–टिचिङ–ट्रमालाई तयारी

काठमाडौ, १० भदौ। रसुवामा आएको बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको जनाएको छ।

मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राख्दै घाइतेको उपचार तथा आवश्यक परेमा तत्काल रिफर गर्ने व्यवस्था मिलाइएको बताएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना पाएलगत्तै मन्त्रालय बिहानदेखि नै सतर्क अवस्थामा छ। प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन जानकारी गराइएको छ भने स्वास्थ्य मन्त्रालय अन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय पारिएको छ।

‘बिहानदेखि काम जुटिसकेका छौं । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई जानकारी गराइसकेका छौं। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क सक्रिय गरिएको छ,’ डा. अधिकारीले भने ।

उनका अनुसार रसुवा र आसपासका क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा प्राथमिक उपचार र बिरामीको अवस्था छुट्याउने अर्थात् ‘ट्रायज’ को व्यवस्था गरिने छ। स्थानीय स्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रेफर गरी थप उपचार गर्ने पूर्वनिर्धारित विपद् कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सहितका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ।

प्रभावित क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रवक्ता अधिकारीले बताए ।

उनका अनुसार त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्था हेरेर स्थानीयस्तरमै उपचार गर्ने वा तत्काल माथिल्लो तहको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ।

‘यस्ता विपद्का घटनाका लागि पहिले नै बनेका कार्ययोजना छन्। हरेक अस्पतालको आफ्नै विपद् कार्ययोजना हुन्छ। स्थानीय अस्पतालबाट उपचार सम्भव नभएमा हब अस्पतालमा रेफर गर्ने र त्यहाँबाट गम्भीर बिरामीको व्यवस्थापन गर्ने प्रणाली अहिले सक्रिय गरिएको छ,’ उनले भने ।

बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेकाको यकिन विवरण भने तत्काल उपलब्ध भएको छैन ।

प्रवक्ता अधिकारीका अनुसार घाइते तथा प्रभावितको विवरण संकलन र अध्यावधिक गर्ने काम भइरहेको छ र थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने छ।

‘अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अध्यावधिक भइसकेको छैन। विवरण आएपछि बेलुकासम्म अपडेट गर्छौं,’ उनले भने।

 

ताजा अपडेट

खोजी गर्नुहोस