
काठमाडौं, २२ जेठ। विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ ।
सुटकेशमा विद्युतिय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउन आदेश दिएको हो । व्यवसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा झिटिगुण्डामा राखी भेप ल्याइएको भेटेपछि सुटकेश बरामद गरेको थियो ।
बरामद भएको सुटकेस गोदाममा राख्ने जिम्मा पाएका नासु खड्काले त्यहाँभित्र सुन भएको थाह पाएपछि साटेर अरु भेप सुटकेशभित्र राखी सुन राखेका भेप निकालेका थिए । उनले त्यहाँबाट निकालेको सुन न्यूरोडमा लगेर बेचेका थिए ।
उनी यसअघि दायर भएको सुन तस्करीको मुद्दामा दोषी भइसकेका आरोपित हुन् । अख्तियारले खड्का लगायत पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल लगायतमाथि सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो ।
त्यही मुद्दामा विशेष अदालत उपस्थित गराइएकोमा उनलाई बयानपछि थुनामा पठाइएको हो ।
विशेष अदालतले सुन उनको जिम्मामा रहेको, उनले नै गोदाममा रहेको सामान साटेको, अरु आरोपितहरूले उनलाई पैसा दिएको भनी बयान गरेको र उनको खातामा रकम आएको पनि देखिएको औंल्याएको हो । विशेष अदालतले उनलाई थुनामा राख्नुपर्नेगरी प्रमाण पेश भएको भन्दै थुनामा राख्न आदेश दिएको हो ।
