भोटेकोशी बाढीमा ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी सम्पर्कविहीन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १५, सोमबार (५७ मिनेट अघि)
  • ३४ पटक पढिएको
भोटेकोशी बाढीमा ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौ, १५ भदौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भिषण बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

प्राधिकरणका अनुसार बाढीका कारण २६७ जना घाइते भएका छन् भने करिब ४ हजार ३४७ जना अझै सम्पर्कविहीन रहेका छन्। यस विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायतका जिल्लाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी कुल २० हजार ८९९ जना सुरक्षाकर्मीहरू मैदानमा खटिएका छन्। सुरक्षा बलको सक्रियतामा हालसम्म बाढी-पहिरोमा फसेका १० हजार ४५९ जना नागरिकको सकुशल उद्धार भइसकेको छ।

उद्धार उडानका क्रममा नेपाली सेनाको हेलिकप्टरमार्फत ३ हजार ३४४ जना नेपाली र २५२ जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ। यसका लागि सेनाले हालसम्म ४११ पटक हवाई उडान भरिसकेको छ।

सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने उद्देश्यले बजेट विनियोजन गरेको छ। जसअन्तर्गत मुख्य प्रभावित जिल्ला रसुवामा रु. १ करोड, नुवाकोटमा रु. १ करोड र धादिङमा रु. ५० लाख नगद राहत सहयोग उपलब्ध गराइएको छ।

यसका साथै बाढीबाट प्रभावित १५ वटा स्थानीय तहहरूका लागि कुल रु. ६ करोड ७५ लाख हस्तान्तरण गरिएको छ।

प्रभावित क्षेत्रहरूमा खाद्यान्न, गैरखाद्यान्न सामग्री, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीहरू निरन्तर पठाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस