
काठमाडौं, ०३ वैशाख। काठमाडौँ महानगरपालिका ले सडकमा अलपत्र परेका बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर उद्धार कार्यको नेतृत्व गरिरहेकी छन्।
महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको अवस्था अनुसार वर्गीकरण गर्ने नयाँ प्रक्रिया सुरु गरेको छ। पशुपति क्षेत्रमा सडक मानवहरूको सङ्ख्या बढी भएकाले व्यवस्थापनलाई प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोष सँगको समन्वयमा सोही क्षेत्रमा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ स्थापना गर्ने सहमति भएको जनाइएको छ।
महानगरका अनुसार उद्धार गरिएकामध्ये परिवार भएका व्यक्तिहरूलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पतालमा उपचारका लागि पठाइने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा राखिनेछ। जसको कोही छैन र वास्तविक रूपमा सहारा आवश्यक छ, उनीहरूलाई मात्र मानव सेवा आश्रम मा स्थानान्तरण गरिने योजना छ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार कतिपय व्यक्तिहरू पुनः सडकमा फर्किनुको मुख्य कारण व्यवहारगत समस्या हो। सडकमा बस्दा मदिरा र लागुऔषध सजिलै उपलब्ध हुने तथा खुला जीवनशैलीमा अभ्यस्त भएकाहरूलाई आश्रमको अनुशासनमा बस्न कठिन हुने गरेको पाइएको छ। त्यसैले महानगरले काउन्सिलिङ र पुनर्स्थापना (रिह्याब) सेवामा समेत जोड दिएको छ।
यो अभियान पशुपति क्षेत्रमा मात्र सीमित नरही कालिमाटी, स्वयम्भू लगायत काठमाडौँका अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ।
बुधबार राति पशुपतिनाथ मन्दिर परिसरमा भएको उद्धार कार्यमा आनी छोइङ डोल्मा समेत सहभागी भएकी थिइन्। उनले बेसहारा नागरिकको अभिभावक राज्य र स्थानीय सरकार हुनुपर्ने बताउँदै उनीहरूको मानसिक स्वास्थ्य सुधारका लागि परामर्श आवश्यक रहेको औंल्याइन्।
महानगरका कर्मचारी वसन्त आचार्यका अनुसार पशुपति क्षेत्र विकास कोषको परिसरभित्र छिट्टै स्क्रिनिङ सेन्टर सञ्चालनमा ल्याइनेछ। महानगर, कोष, मानव सेवा आश्रम तथा सुरक्षा निकायहरूको संयुक्त पहलमा अभियान अगाडि बढाइएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र महानगर प्रहरीको समन्वयमा काठमाडौँलाई सहयोगापेक्षी सडक आश्रित मुक्त सहर बनाउने लक्ष्य राखिएको महानगरले जनाएको छ।
