
काठमाडौं, २१ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभाका तीन सांसदलाई पार्टीको निर्णय र ह्वीप उल्लंघन गरेको भन्दै ७२ घण्टे स्पष्टीकरण सोधेको छ । प्रदेश सांसदहरू मोनिका श्रेष्ठ, डम्बर तामाङ र नुरज बज्राचार्यलाई गत १९ गते राप्रपाको अनुशासन समितिले स्पष्टीकरण सोधेको हो ।
राप्रपाले बागमती प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो । तर, ती सांसदले उक्त निर्देशनको उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गरेको पार्टीको ठहर छ ।
बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय विपरीत निजी लेटरप्याड प्रयोग गरी नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेको विषयमा पार्टीले यसअघि नै कारबाही गरिसकेको थियो ।
भदौ १४ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थापालाई प्रदेश सभा सदस्यबाट पदमुक्तको सिफारिस र साधारण सदस्यबाट समेत निलम्बन गरिसकेको अवस्थामा पनि तीन सांसद सरकार निर्माणको पक्षमा उभिनुलाई पार्टीले गम्भीर अनुशासन उल्लंघनका रूपमा लिएको छ ।
अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘पार्टीले प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुन ह्वीप जारी गरेको सन्दर्भमा तपाईँले बागमती प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी भई समर्थनमा मतदान गर्नुभएकोले किन कारबाही नगर्ने ?’
राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) को दफा ३० (ङ) बमोजिम उनीहरूलाई प्रदेश सभा सदस्यबाट पदमुक्त र पार्टीको साधारण सदस्यबाट समेत किन निलम्बन नगर्ने भनी ७२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
हिजै मात्र बाग्मतीका प्रमुख सचेतक डम्बर तामाङले मुख्यमन्त्री थापालाई मत नहाल्ने पाँच जनालाई स्पष्टीकरण सोधेका थिए ।
