रसुवा–नुवाकोटमा बाढीको कहर, १,२५९ सशस्त्र प्रहरी उद्धारमा खटिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
  • २८ पटक पढिएको
रसुवा–नुवाकोटमा बाढीको कहर, १,२५९ सशस्त्र प्रहरी उद्धारमा खटिए

काठमाडौ, ११ भदौ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। विपद्बाट प्रभावित ४८ वटा वडामा सशस्त्र प्रहरीले सूचीकृत गरेका १ हजार २ सय विपद् सूचकमार्फत सूचना संकलन भइरहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नुवाकोटमा विपद् प्रतिकार्य बेस स्थापना गरी १ हजार २५९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। परिचालित टोलीमा ब्याकअप पावर सप्लाइज, मेडिकल तथा प्यारामेडिक्स, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन विज्ञ, क्याम्प समन्वय तथा व्यवस्थापन विज्ञ, मेडिकल फर्स्ट रेस्पोन्डर (एमएफआर), कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) टोली, गोताखोर तथा स्विफ्ट वाटर रेस्क्यु तालिमप्राप्त सुरक्षाकर्मीहरू रहेका छन्।

खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीको के–नाइन (K9) टोलीसमेत परिचालन गरिएको छ। पाँचवटा ड्रोनसहितको ड्रोन स्क्वाड परिचालन गरिएकोमा ती ड्रोनले हालसम्म १२ वटा शव लोकेट गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार हालसम्म नदीबाट १५२ वटा शव निकालिएको छ भने ७३ जनाको सकुशल उद्धार गरिएको छ।

यसैबीच, नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालनका लागि स्थान छनोट गरी व्यवस्थापनको काम सुरु गरिएको छ। विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्यसम्बन्धी सेवा तथा व्यवस्थापनको काम अघि बढाइसकेको जनाइएको छ।

नेपाल एपीएफ अस्पतालमा घाइतेहरूको उपचारका लागि १०० शय्या छुट्याइएको छ। त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० शय्या क्षमताको डिजास्टर रिलिफ सिस्टम (DRS) सक्रिय गरिएको छ।

सीएसएसआर टोलीले विभिन्न संरचना, जलविद्युत् आयोजना तथा अन्य सम्भावित स्थानमा सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस