रसुवा बाढीपछि मधेशका १६२ जना अझै बेपत्ता, परिवारजनमा बढ्यो चिन्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १५, सोमबार (१ घण्टा अघि)
  • २६ पटक पढिएको
रसुवा बाढीपछि मधेशका १६२ जना अझै बेपत्ता, परिवारजनमा बढ्यो चिन्ता

जनकपुरधाम, १५ भदौ। १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि दोसान हाइड्रोपावर परियोजनामा कार्यरत इन्जिनियर अजयप्रसाद सिंह सम्पर्कविहीन छन् । धनुषाको कमला नगरपालिकाका ३० वर्षीय सिंह सम्पर्कविहीन भएपछि एक महिनाकी सुत्केरी श्रीमती पूजा सिंह बेचैन छिन् ।

अजय कुन अवस्थामा छन् भन्ने बुझ्न उनी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निरन्तर आँखा डुलाइरहेकी छन् । बेलाबेला सामाजिक सञ्जालमा लेख्दै अजय सम्पर्कमा आउने आशासहित खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेकी छन् पूजा ।

‘आजको दिन पनि बित्यो, तर मेरो श्रीमान्को कुनै खबर आएन । उहाँको क्याम्प आसपास, विशेषगरी पश्चिम–उत्तरतर्फको भागमा अहिलेसम्म उद्धार टोली पुगेको छैन र त्यहाँबाट कुनै जानकारी पनि सुनिएको छैन,’ उनले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो श्रीमान् अझै पनि उद्धारको आशामा हुनुहुन्छ भन्ने विश्वास छ । भगवानले उहाँलाई जहाँ भए पनि सुरक्षित राखुन् । कृपया उहाँसम्म उद्धार टोली छिटोभन्दा छिटो पुगाइदिनुहोस् ।’

एक वर्षअघि मात्र पूजासँग अन्तरजातीय विवाह गरेका अजयका एक महिने छोरी छन् ।

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा कार्यरत सप्तरीका इन्जिनियर अजयकुमार यादव पनि बाढीपछि सम्पर्कमा आएका छैनन् । सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियाका यादवको खोजीका लागि उनका दाइ श्यामसुन्दर यादव रसुवा पुगेका छन् । परिवारजनले उनको खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेका छन् ।

‘खोजी तथा उद्धारका लागि आ–आफ्नो तवरबाट भूमिका निर्वाह गरिदिन बिन्ती छ,’ दाइ श्यामसुन्दरले आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । अजयको अवस्था अज्ञात भएपछि परिवार बेचैन छ ।

धनुषाका अजय सिंह, सप्तरीका अजय यादवजस्तै रसुवाको बाढीपछि आइतबारसम्म मधेश प्रदेशका १६२ जनाका परिवार र आफन्तको अवस्था फरक छैन । मधेश प्रदेश प्रहरी कार्यालयको आइतबारसम्मको तथ्यांक अनुसार रसुवाको बाढीमा १९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३० जना सम्पर्कमा आएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

परिवार तथा आफन्तजनले मधेश प्रदेश प्रहरी कार्यालयलाई लिखित तथा फोनमार्फत टिपाएको विवरण आइतबार बिहान १० बजेसम्मको रहेको प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले बताए ।

प्रहरीको विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये एक जना सम्पर्कमा आएका छन् । पर्साका ४० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने बाराका २५ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् ।

त्यस्तै, रौतहटका १९ जनामध्ये ६ जना, सर्लाहीका १९ जनामध्ये तीन जना, महोत्तरीका १७ जनामध्ये सात जना, धनुषाका १३ जनामध्ये सात जना र सिरहाका १० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् ।

आठवटै जिल्लाका १६२ जना अझै सम्पर्कविहीन अवस्थामा छन् । उनीहरूका परिवार अजय सिंह र अजय यादवका परिवारजस्तै आफ्ना आफन्त फर्किएर आउने आशामा आँखा ओछ्याएका छन् ।

परिवारजनले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर हारगुहार गरिरहेका छन् । सामाजिक संजालमा सूचना, प्रहरी समक्ष हारगुहार र कतिपय घटनास्थलसम्म पुगेर सम्पर्कविहीन आफ्ना मान्छे खोजिरहेका छन् । घटनापछि दिन बित्दै जाँदा सम्पर्कविहीनका परिवारमा आशासँगै निराशा पनि बढ्दै गएको छ ।

सप्तरीका ४८ जना सम्पर्कविहीन

सम्पर्कविहीन हुनेहरुमा सबभन्दा बढी सप्तरीका छन् । देवराज ईशर, अनिल कुमार विश्वकर्मा, ललिता नारायण चौधरी, ईन्द्र नारायण ईशर, अजय मरिक, देवानन्द चौधरी, नितिश कुमार पासवान, अकलेश कुमार पासवान, रबिन्द्र कुमार यादव, सरोज चौधरी, मनिष कुमार मण्डल छन् । यस्तै अजय कुमार यादव, साजन चौधरी, शिव कुमार यादव, देव कुमार यादव, शचित कुमार यादव, संजय साह, दुर्गा राम, सुनिता राम, दिवस राम, पिताम्बर प्रसाद दास, राजिव कुमार सिंह, सरोज कुमार रौनियार, शुशिल कुमार चौधरी, प्रेम सागर चौधरी, दिलिप कुमार मण्डल, राज पासमान पनि सम्पर्कविहीनको लिस्टमा छन् ।

त्यस्तै शिवकुमार पासमान, सुरज मण्डल, हेमनारायण साह, सोना बाटा, शिवकुमार यादव, सुरेन्द्र देव चौधरी, नविन श्रेष्ठ, हृदयनारायण चौधरी, रमेशकुमार चौधरी, दिपेन्द्र चौधरी, रोशनकुमार यादव, त्रिभुवन मण्डल, अभिनाश पण्डित, ओमनारायण यादव, बिजयकुमार यादव, सन्तोष यादव, संतोष चौधरी, प्रवेशकुमार चौधरी, सुरेनसदा रिख्यासन, शिवकुमार सदा, बेचन सदा र राजमणि साह पनि सम्पर्कविहीन रहेको उल्लेख छ ।

यीमध्ये अजय मरिक सम्पर्कमा आएको र बाँकी ४८ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयको विवरणमा छन् ।

पर्साका ३८ जना

दोस्रोमा पर्साबाट ४० जना सम्पर्कविहीन रहेको र दुईजना मात्र सम्पर्कमा आएको प्रहरीको विवरण छ ।

पर्साबाट सम्पर्कविहीनको सूचिमा सर्फराज मिया, साहबुदिन मंसुरी, सर्ताज मिया, समिम मियाँ, राहुल मिया, उमेश प्रसाद, विरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह, सञ्जय साह सोनार, सुरज माझी, सागर कर्ण छन् ।

यस्तै सुनिलमान डंगोल, रिजवान अंसारी, आरभ चौरसिया, अलोक चौरसिया, लक्की पटेल, आरवाज हवारी, नरेश राय, नरेश राई, नगनारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, ज्ञानबहादुर थिङ, श्यामलाल मोक्तान रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै सम्पर्कविहीनहरूमा समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तौला, दिनेश परियार, पृथ्वी चौधरी, विकाशकुमार बर्णवाल, सोनालाल पडित कुम्हार र शेष नसिम रहेका छन् ।

यीमध्ये ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान सम्पर्कमा आएको विवरणमा उल्लेख छ । बाँकी व्यक्तिको अवस्था सम्पर्कविहीनका लिस्टमा छन् ।

बाराका २३ जना

बाराबाट श्रीनिवास महतो धानुक, सुदिपकुमार मण्डल, निरजकुमार कुशवाहा, संजोग कुमार, अंकित पटेल, नमनारायण सिंह, जितेन्द्र कुमार दास, रजित श्रेष्ठ, धिरज चौधरी, रुपेश कुमार साह, रमेश कुमार यादव, राज बिष्ट, दिनेश परियार, उत्तम न्यौपाने, जिवन चौधरी छन् ।

यस्तै देवेश भट्टराई, सुबोध पटेल, विनय सराफ, समिम देवान, सुभाषप्रसाद पटेल, संदिपप्रसाद मण्डल, अरुण हजरा दुसाद र सतेन्द्रकुमार राउत सम्पर्कविहीनको सूचीमा छन् ।

यीमध्ये सत्यप्रकाश राम र रुपेश गुप्ता सम्पर्कमा आएका छन् भने बाँकी २३ जना सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ ।

रौतहटका १३ जना सम्पर्कविहीन, ६ जना सम्पर्कमा

रौतहटबाट सुधीरकुमार साह, गौरव राउत, समिर मन्सुरी, संगिता देवी साह, राहुल कुमार, हरेराम खा, सलमान अन्सारी सम्पर्कविहीन छन् ।

यस्तै बिबेक दवाडी, रामबिनोद भगत, ततरी देवी, अभिषेक गुप्ता, समान्त पौडेल र शेरबहादुर माझीको नाम पनि सम्पर्कविहीनमा उल्लेख छ ।

रौतहटकै सम्पर्कविहीन भएर सम्पर्कमा आउनेहरुमा शेख माजिद, मोबिदा खातुन, सकिना खातुन, सलमान अन्सारी, पबित्रा नेपाल सिलवाल र सम्राट सिलवाल सम्पर्कमा आएका छन् । बाँकी १३ जना सम्पर्कविहीन छन् ।

सर्लाहीका १६ जना सम्पर्कबिहीन, ३ जना सम्पर्कमा

सर्लाहीबाट माधव काफले, अनोज काफले, कृणष प्रसाद धमला, द्धरिका दंगाल, चिरन्जिवि खतिवाडा, सुनिल कुशवाहा, लक्षमण बहादुर श्रेष्ट, गोबिन्द यादव, दिपक साह, सिकिन्द्र राय भन्ने राम प्रवेश राय, अविनास चौधरी, सुमन दहाल, अनुज कुमार मिर्दाहा, नविन कायस्थ, सुमित स्याङ्गबो र राम बिबेक रहेका छन् ।

यीमध्ये बृज किशोर दास, सुनिता दास र दिपेश थापा सम्पर्कमा आएका छन् भने १६ जना सम्पर्कविहीन छन् ।

महोत्तरीका १७ जना सम्पर्कविहीन  

महोत्तरीबाट सम्पर्कविहीन १७ जना मध्ये ७ जना सम्पर्कमा आएका छन् भने १० जना अझै सम्पर्कविहीन छन् । सितलबहादुर लुङगेली, विजय थापा मगर, सुशील लालदास, विकाशकुमार यादव, सन्तोषकुमार ठाकुर, सौभाग्य बिष्ट, हसन अंसारी, पप्पु मण्डल, गंगाराम मण्डल, र जोया राना मगर सम्पर्कविहीनका सूचीमा छन् ।

सम्पर्कमा आएकाहरुमा राकेशकुमार यादव, श्रीकेश यादव, युवराज पाण्डे, सचिनकुमार यादव, आदित्य नयारायण यादव, ई. विपिनकुमार मण्डल र विकाश भारती सम्पर्कमा आएका छन् ।

धनुषाका ७ जना सम्पर्कविहीन, ६ जना सम्पर्कमा

धनुषाबाट अजय प्रसाद सिंह, राहुल गुप्ता, परीक्षण ठाकुर, राधा देवी ठाकुर, संगम ठाकुर र पुनमकुमारी ठाकुर सम्पर्कविहीन छन् । सम्पर्कमा लक्षमण महतो, दयावती देवी यादव, बिजय कुमार यादब, शुरेस पंजियार, रितिक झा, विक्रम ठाकुर र सुशान्त यादव आएका छन् । बाँकी ६ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

सिरहाका ८ जना सम्पर्कविहीन

सिरहाका सन्तोषकुमार यादव (त्तऋ इन्जिनियर), श्यामसुन्दर साह, राजा यादव, बैद्यनाथ साह, आयुस साह, आनन्दकुमार महतो, विवेक नारायण चौधरी र रोशन कामर साह सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन भएका टार्जन बलम्पाकी सम्पर्कमा आएको र उमेश यादवलाई भदौ १२ गते उद्धारपछि आफन्तको सम्पर्कमा ल्याइएको विवरणमा उल्लेख छ । बाँकी आठ जना सम्पर्कविहीन छन् ।

सुरक्षाकर्मी पनि सम्पर्कविहीन

रसुवामा कार्यरत मधेश प्रदेशका प्रहरी कर्मचारीतर्फ सम्पर्कविहीन ९ जना मध्ये ६ जना सम्पर्कमा आएका छन् । अन्य तीनजना सम्पर्कविहीन छन् ।

प्रहरीतर्फ पर्साका ओजिर अंसारी सम्पर्कमा आएका छन् भने श्रवणकुमार यादव सम्पर्कविहीन छन् । रौतहटका नविनकुमार सिंह घरमा सम्पर्क हुन नसकेको अवस्थामा छन् भने सुरेन्द्र बैठा घरको सम्पर्कमा रही हाल काठमाडौंमा रहेको उल्लेख छ । मुकेश गोसाईसँग भदौ १० गते साँझ घरमा सम्पर्क भएको र उनको खुट्टामा चोट लागेको जानकारी दिइएको छ ।

सर्लाहीका गजेन्द्र राय घरमा सम्पर्क नरहेको अवस्थामा छन् भने रमेश राय यादव सम्पर्कमा आएका छन् । धनुषाका गणेश मण्डल सम्बन्धित प्रहरी अधिकारीसँग सम्पर्कमा रहेको विवरण छ । सप्तरीका अजय मरिक पनि आफन्तको सम्पर्कमा आएका छन् ।

नेपाली सेनातर्फ रौतहटका अभिषेक गुप्ता, बाराका रोवित कुमार साह र सुरज कुमार साह सम्पर्कविहीन छन् । रोवित कुमार साह सम्पर्कमा आएका छन् भने अभिषेक गुप्ता र सुरज कुमार साह सम्पर्कविहीन छन् ।

रसुवामा आएको बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजना, सडक निर्माण, होटल, व्यवसाय, ट्रक तथा अन्य काममा संलग्न मधेशका नागरिक प्रभावित भएका हुन् । कतिपय व्यक्ति रसुवाको टिमुरे, धुन्चे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेको तथा कतिपय नुवाकोटको त्रिशूली, बेत्रावती र आसपासका क्षेत्रमा काम गर्ने क्रममा सम्पर्कविहीन भएको परिवार तथा आफन्तबाट जानकारी आएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस