रेग्मी र राईविरुद्ध महाभियोगको माग, संसद् सचिवालयमा निवेदन दर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २५, बिहिबार (१३ मिनेट अघि)
  • १८ पटक पढिएको
रेग्मी र राईविरुद्ध महाभियोगको माग, संसद् सचिवालयमा निवेदन दर्ता

काठमाडौं, २५ भदौ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ ।

शंकर रजकले रेग्मी र राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गरी संघीय संसद् सचिवालयमा निवेदन दिएका हुन् ।  संघीय संसद् सचिवालय स्रोतले निवेदन प्राप्त भएको पुष्टि गर्‍यो । स्रोतले भन्यो, ‘केही साताअघि नै  निवेदन आएको हो ।

नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक पदाधिकारीहरूमाथि दुई तरिकाबाट महाभियोगको प्रस्ताव दर्ता हुने परिकल्पना छ ।

संविधानको धारा १०१(१) मा प्रतिनिधिसभाका एक चौथाइ सदस्यले महाभियोगको प्रस्ताव पेस गर्नसक्ने व्यवस्था छ । त्यस्तो प्रस्तावमा ‘प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा’ सम्बन्धित पदाधिकारी पदमुक्त हुने व्यवस्था छ ।

त्यही धाराको उपधारा (५) मा कुनै पनि व्यक्तिले संवैधानिक पदाधिकारी विरुद्ध महाभियोगको प्रस्तावको सूचना दिन सक्छन् । कम्तीमा तीनजना सांसदहरूले त्यो उजुरी प्रमाणित गरेमा महाभियोग सिफारिस समितिले छानबिन गर्नसक्छ । त्यसपछि महाभियोगसम्बन्धी प्रस्ताव अघि बढ्न सक्छ । दोस्रो विकल्पका लागि पनि प्रतिनिधिसभाका एक चौथाइ सांसदहरूको हस्ताक्षर अनिवार्य हुनेछ । तर यो प्रक्रियामा पुग्नका लागि प्रतिनिधि सभामा महाअभियोग सिफारिस समिति बनेको हुनुपर्छ । अहिले प्रतिनिधिसभा महाभियोग सिफारिस समिति बनेको छैन ।

महाभियोगको लगाउनुपर्ने माग भएका  व्यक्ति  सर्वोच्च अदालतका न्यायाधीश रेग्मी प्रधानन्यायाधीशपछि तेस्रो वरीयताका न्यायाधीश हुन् ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले महाअभियोग सम्बन्धी कुनै निवेदन वैधानिक रुपमा  नआएको बताए । उनका अनुसार महाअभियोग सम्बन्धी प्रस्ताव वा निवेदन आउँदा संसद् सचिवालयका महासचिवकोमा दर्ता हुने र महासचिवको अनुपस्थितिमा प्रतिनिधिसभाको सचिवकहाँ दर्ता हुने व्यवस्था छ । ‘महाअभियोग माग गर्दै निवेदन आए पनि वैधानिक रुपमा दर्ता भएको छैन’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस