
जनकपुरधाम , १० साउन। प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि मधेस प्रदेश प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बन्दै गएको छ। अभियानअन्तर्गत नियमित निगरानी र चेकजाँच कडा बनाएसँगै लागूऔषध सेवनकर्ता तथा कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन्।
प्रहरीले मधेस प्रदेशका आठै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइनलगायत विभिन्न लागूऔषधको अवैध कारोबारमा संलग्न व्यक्तिमाथि कारबाही तीव्र बनाएको छ। अभियानका क्रममा ठूलो परिमाणमा लागूऔषध पनि बरामद हुँदै आएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी दुई हजार १२१ मुद्दा दर्ता भएका छन् भने दुई हजार ८११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक रहेका छन्। यो विवरण मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले दिएका हुन्।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै लागूऔषधका ६३० मुद्दा दर्ता भएका छन्। यस अवधिमा ८७१ जना पक्राउ परेका छन्, जसमा ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी नागरिक छन्।
सोही अवधिमा प्रहरीले १५ हजार ३८२ किलोग्राम गाँजा, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, ५१६ ग्राम ब्राउन सुगर, चार लाख ७३ हजार ४८५ ट्याब्लेट, दुई हजार ११८ बोतल सिरप र १८ हजार १२५ इन्जेक्सन बरामद गरेको जनाएको छ।
त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ५८५ मुद्दा दर्ता हुँदा ८३६ जना पक्राउ परेका थिए। उक्त वर्ष १६ हजार ५७३ किलोग्राम गाँजा, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, दुई हजार ७०५ ग्राम हिरोइन, ६१ ग्राम ब्राउन सुगर, तीन लाख ७० हजार ४४२ ट्याब्लेट, सात हजार ५०४ सिरप र ६१ हजार ३३३ इन्जेक्सन बरामद गरिएको थियो।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ७९७ मुद्दा दर्ता भई एक हजार १०४ जना पक्राउ परेका थिए। त्यस अवधिमा आठ हजार ५३९ किलोग्राम गाँजा, १२१ किलोग्राम १४६ ग्राम चरेस, एक ग्राम अफिम, एक हजार १३१ ग्राम ७.१११ मिलिग्राम हिरोइन, ५९४ ग्राम ब्राउन सुगर, ४९ हजार ८८८ ट्याब्लेट, तीन हजार ४१६ सिरप र ५४ हजार ४०४ इन्जेक्सन बरामद गरिएको थियो।
प्रहरीका अनुसार खुला नेपाल–भारत सीमाको फाइदा उठाउँदै सीमावर्ती भारतीय बजारबाट लागूऔषध नेपाल भित्रिने क्रम अझै चुनौतीपूर्ण रहेको छ। सीमासँग जोडिएका औषधि पसलबाट अवैध रूपमा ल्याइने लागूऔषध काठमाडौंसम्म पुग्ने गरेको प्रहरीको भनाइ छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सीमा नाकामा हुने कडा जाँचका क्रममा भारतबाट लागूऔषध सेवन गरेर वा खरिद गरेर फर्किने धेरै युवाको साथबाट लागूऔषध बरामद भइरहेको छ।
उनका अनुसार लागूऔषध सेवन तथा कारोबारमा पक्राउ पर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन्। अभिभावकको निगरानीबाट टाढा रहेका, पढाइ छाडेका वा बेरोजगार युवाहरू गलत संगतका कारण दुव्र्यसनमा फस्ने गरेको उनले बताए।
प्रहरी नायब महानिरीक्षक अधिकारीले पछिल्लो समय लागूऔषधको समस्या युवामा मात्र सीमित नरहेको उल्लेख गर्दै बालबालिका, किशोरकिशोरी र महिलासमेत यसको चपेटामा पर्न थालेको बताए।
उनले अभिभावक, विद्यालय, शिक्षक र परिवार सबैले संयुक्त रूपमा सचेतना बढाए मात्र लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न सकिनेमा जोड दिए।
