लापरबाही गर्ने डा. गुप्तामाथि मेडिकल काउन्सिलले गर्‍यो कारबाही, घटाइयो तह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २, सोमबार (१ महिना अघि)
  • ९६ पटक पढिएको
लापरबाही गर्ने डा. गुप्तामाथि मेडिकल काउन्सिलले गर्‍यो कारबाही, घटाइयो तह

वीरगञ्ज, ०२ चैत। वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा भएको गम्भीर चिकित्सकीय त्रुटिका कारण एक बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक डा. मनोजकुमार गुप्तामाथि अनुशासनात्मक कारबाही गरेको छ ।

काउन्सिलले डा. गुप्तालाई ६ महिनासम्म अन्य वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उपचार सेवा दिन पाउने गरी तह घटुवा गर्दै कारबाही गरेको हो ।

फागुन ११ र १२ गते बसेको काउन्सिलको पूर्ण बैठकले घटनासम्बन्धी विवरण, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विज्ञहरूको राय–सुझाव अध्ययन गरेपछि उक्त निर्णय गरेको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए ।

काउन्सिलका अनुसार बारा जिल्लाका ३७ वर्षीय सुरेश साह कानु २०८० कात्तिक १४ गते पित्त थैलीसम्बन्धी समस्या लिएर उक्त अस्पताल पुगेका थिए । तर रोगको स्पष्ट पहिचान तथा आवश्यक परीक्षण नगरी शल्यक्रिया गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

पित्त थैली निकालिएको भन्दै प्रयोगशालामा पठाइएको भनिए पनि बिरामीका परिवारलाई त्यससम्बन्धी आधिकारिक परीक्षण प्रतिवेदन उपलब्ध नगराइएको आरोप छ । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि अर्को अस्पतालमा लगिएको थियो । त्यहाँ गरिएको परीक्षणबाट शरीरभित्र क्यान्सर फैलिएको तथ्य खुलेको चिकित्सकहरूले बताएका थिए ।

उपचार प्रक्रियामा देखिएको त्रुटि र स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सुरेश साह कानुको २०८१ साउन ३२ गते निधन भएको थियो । घटनापछि मृतकका आफन्तले न्यायको माग गर्दै २०८१ पुस २८ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका थिए ।

सोही उजुरीका आधारमा काउन्सिलले अनुसन्धान अघि बढाउँदै चिकित्सकीय लापरबाही देखिएको ठहर गरेपछि अनुशासनात्मक कारबाही गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा यस्ता घटनाले सेवा गुणस्तर र नियमन प्रणालीप्रति गम्भीर प्रश्न उठाएको भन्दै सरोकारवालाहरूले प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका छन् । अस्पतालमा यसअघि पनि विभिन्न विवादहरू हुँदै आएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस