विकास आयोजनाको काममा गति बढाउन मन्त्री लम्सालको आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ५, शुक्रबार (११ घण्टा अघि)
  • ६५ पटक पढिएको
विकास आयोजनाको काममा गति बढाउन मन्त्री लम्सालको आग्रह

धनुषा,०४ मंसिर। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन् ।

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं। ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायत क्षेत्रको निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको निर्माण अवस्था र प्रगतिबारे जानकारी लिँदै लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउने गरी कार्यान्वयन हुनुपर्ने बताए । निर्माणको गुणस्तर र समयसीमामा सम्झौता नगर्न पनि उनले आग्रह गरे ।

मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले मणिमण्डपको अवलोकन गर्दै त्यसलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।

त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिने बताए ।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गरिएको बताए । अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस