वीरगञ्जमा परीक्षा स्थगितविरुद्ध विद्यार्थीको प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ८, आईतबार (१ महिना अघि)
  • २१० पटक पढिएको
वीरगञ्जमा परीक्षा स्थगितविरुद्ध विद्यार्थीको प्रदर्शन

वीरगञ्ज, ०८ चैत। वीरगञ्जको हरिखेतान कलेजमा अध्ययनरत विद्यार्थीहरूले आइतबार घण्टाघर क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । कक्षा १२ को टर्मिनल परीक्षा अन्तिम समयमा स्थगित गरिएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन्।

कलेज प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले क्याम्पस परिसरमै नाराबाजी सुरु गरेका थिए । सो क्रममा स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरी क्याम्पसभित्र प्रवेश गरेको थियो । विद्यार्थीहरूको आरोप अनुसार प्रहरी टोलीले क्याम्पस ड्रेसमै रहेका उनीहरूमाथि लाठीचार्ज गरेको हो।

प्रहरीले अत्यधिक बल प्रयोग गरेको विरोधमा उनीहरूले डीएसपी, क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिका पदाधिकारीमाथि कारबाहीको माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले भने प्रदर्शनका क्रममा केही विद्यार्थीले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको जनाएको छ।

प्रदर्शन चर्किएपछि घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

जसका कारण आवागमन प्रभावित भएको छ। हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति सामान्य बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस