
धनुषा, ०६ चैत। हसिना खातुनको शंकास्पद मृत्यु प्रकरणमा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषाको मुख्यद्वारमा प्रदर्शन गरेका छन् ।
मृतकका माइती पक्ष, आफन्त तथा अधिकारकर्मीहरूको सहभागितामा भएको प्रदर्शनमा उनीहरूले जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाकी खातुनको मृत्यु घटनामा संलग्न सबै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले हत्या गर्नेहरूलाई कारबाहीको माग र पीडितलाई न्याय दिनुपर्ने लगायतको नारा लगाएका थिए । गत फागुन १३ गते हसिना खातुन आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि ससुराली पक्षले आत्महत्या गरेको दाबी गर्दै आएको छ भने माइती पक्षले भने दाइजोको विवाद र पारिवारिक तनावका कारण हत्या गरिएको आरोप लगाउँदै आएको छ ।
मृतककी भाउजु लिखत प्रविणले सार्वजनिक रूपमा आरोप लगाउँदै हसिनाको हत्या उनका श्रीमान शहनवाज शेष (मुन्ना), सासु र ननदको मिलेमतोमा भएको दाबी गरेकी छन् ।’दाइजोको नाममा पटक पटक दबाब दिइन्थ्यो, साथै श्रीमानको अन्य महिलासँग सम्बन्धका कारण अर्को विवाह गर्ने योजनामा मेरी ननदलाई मारियो,’ उनले भनिन् । उनका अनुसार करिब दुई वर्षअघि ८ लाख रुपैयाँ खर्च गरेर हसिनाको विवाह गरिएको थियो । विवाहपछि समेत थप रकम माग्ने र मानसिक दबाब दिने क्रम जारी रहेको आरोप माइती पक्षले लगाएको छ ।
यता, प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै मृतकका श्रीमान शहनवाज शेषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । तर, पीडित पक्षले भने घटनामा संलग्न भनिएका अन्य सदस्यहरू सासु र ननदलाई समेत तत्काल पक्राउ गर्न माग गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ । प्रहरीले सबै पक्षको बयान संकलन, प्रमाण संकलन तथा पोस्टमार्टम रिपोर्टको अध्ययन गरी निष्कर्षमा पुग्ने तयारी गरिरहेको बताइएको छ ।
