
सुनसरी, १४ साउन। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सुनसरीमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सद्भाव र अमनचयन कायम राख्न पाँचबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ।
बुधबार साँझ आयोजित बैठकमा राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा विभिन्न सरोकारवाला पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलपछि जारी संयुक्त प्रतिबद्धतापत्रमार्फत सबै पक्षले जिल्लामा शान्ति सुरक्षा कायम राख्न संयुक्त रूपमा पहल गर्ने अठोट व्यक्त गरेका छन्।
बैठकले कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्रतिबद्धतापत्रमा घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव, हुलदंगा तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सबै पक्षले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्ने सहमति जनाएका छन्।
बैठकले संकटको घडीमा आक्रोश, प्रतिशोध र उत्तेजनाभन्दा संयम, विवेक र संवादलाई प्राथमिकता दिँदै समस्याको समाधान खोज्न संयुक्त प्रयास गर्ने निर्णय गरेको छ। साथै सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव कायम राख्न संयमित रहन विशेष अपिल गरिएको छ।
बैठकले सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा समाजमा द्वन्द्व फैलाउने सामग्री पोस्ट वा साझा नगर्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न सबैसँग अनुरोध गरेको छ। गलत सूचना र अफवाहका कारण समाजमा थप तनाव उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरिएको छ।
यसैगरी, पछिल्ला घटनाक्रममा कलिला युवासमेत भिडभाड र हुलदंगामा संलग्न भएको देखिएकाले अभिभावकलाई आफ्ना बालबालिकाको गतिविधिप्रति विशेष निगरानी राख्न अनुरोध गरिएको छ। युवाहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, हिंसात्मक गतिविधि तथा मुठभेडबाट टाढा रहन र संयमता अपनाउन अभिभावकले आवश्यक मार्गदर्शन गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
सर्वपक्षीय बैठकले शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

