संसदीय समितिमा कांग्रेस सक्रिय, लेखा सभापतिमा उम्मेदवारी दिने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (१ घण्टा अघि)
  • ५८ पटक पढिएको
संसदीय समितिमा कांग्रेस सक्रिय, लेखा सभापतिमा उम्मेदवारी दिने

काठमाडौं, ०३ वैशाख। नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ’ आङदाम्बेले भने, ‘बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह हुँदैछ ।’

संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन् ।

सिंहदरवारमा दिउँसो १२ बजे विपक्षी दलका नेताहरूको संयुक्त छलफल छ । त्यसले उम्मेदवारी दिने वा नदिने र उम्मेदवारी दिँदा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भनेर तय गर्नेछ ।

नेपाली कांग्रेसबाट मोहन आचार्य र भिष्मराज  आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल दलहरूसँग संवादमा छन् ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस