सर्वदलीय बैठक आज : दोस्रो तहका नेताहरू उपस्थित हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १६, मंगलबार (१ घण्टा अघि)
  • ५५ पटक पढिएको
सर्वदलीय बैठक आज : दोस्रो तहका नेताहरू उपस्थित हुने

काठमाडौं, १६ भदौ। आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलका अनुसार भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दैछ ।

दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने भएका हुन् ।

रास्वपा प्रवक्ता खरेलले भनेका छन्, ‘आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरूको उपस्थिति रहने छ ।’

विपद्पछिको अवस्थामा सरकारसँगै काम गर्ने गरी सर्वदलीय संयन्त्र बनाउने निर्णय ११ भदौमा भएको थियो ।

भदौ १० गते विनाशकारी बाढी गयो । भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखे । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेता उपस्थित उक्त बैठकले १० बुँदे संकल्प गरेको थियो ।

जसको बुँदा नम्बर १० मा दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गर्ने विषय छ ।

‘विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ,’ जहाँ भनिएको छ, ‘यस संयन्त्रले संकटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्न यस्तो संयन्त्र आवश्यक रहेको सर्वदलीय बैठकको निष्कर्ष थियो ।

तर, यस्तो संयन्त्र गठन भइसकेको छैन ।

भदौ १० गते नै बसेको प्रतिनिधिसभा बैठकमा सबै राजनीतिक दलहरूले विपद्‍मा सरकारसँगै रहेको सन्देश दिएका थिए । यस पृष्ठभूमिमा रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकले सर्वदलीय सयन्त्र गठनको परिकल्पना गरेका हुन् ।

रास्वपाका प्रवक्ता खरेलका अनुसार सर्वदलीय संयन्त्र गठनकै विषयमा छलफल गर्न आज बैठक राखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस