
काठमाडौ, १८ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भनाइ राष्ट्रहित विपरीत, गैरजिम्मेवार तथा कूटनीतिक मर्यादा विपरीत भएको आरोप लगाएको छ ।
काँग्रेसका प्रवक्ता देवराज चालीसेले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाउने दाबी गरेका छन् ।
विज्ञप्तिमा देशको कार्यकारी प्रमुखले सार्वभौम संसद्मा बोलेको प्रत्येक शब्दलाई राज्यको आधिकारिक धारणा मानिने भएकाले यस्तो संवेदनशील विषयमा गरिएको टिप्पणी गम्भीर र अक्षम्य रहेको उल्लेख गरिएको छ । काँग्रेसले कुनै ऐतिहासिक तथ्य र प्रमाण बिना राष्ट्रिय हित प्रतिकूल हुने गरी अभिव्यक्ति दिनु आपत्तिजनक र घोर निन्दनीय भएको जनाएको छ ।
काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई कमजोर पार्ने गरी प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु दुःखद भएको जनाएको छ । ऐतिहासिक तथ्य, संवैधानिक नक्सा र आम नेपालीको राष्ट्रिय भावना विपरीत आएको उक्त भनाइले नेपालको दाबी र कूटनीतिक विश्वसनीयतामाथि गम्भीर आघात पुगेको काँग्रेसको ठहर छ ।
यसैगरी, प्रधानमन्त्रीले सीमा समस्याबारे बेलायतसँग पनि संवाद भइरहेको दाबी गरेको विषयलाई काँग्रेसले भ्रामक र हास्यास्पद भएको टिप्पणी गरेको छ । स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै यस्तो अभिव्यक्ति दिनु नेपालको अन्तर्राष्ट्रिय छवि र कूटनीतिक परिपक्वतामाथि प्रश्न उठाउने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेसले प्रधानमन्त्रीको उक्त भनाइ सरकारको आधिकारिक धारणा हो कि व्यक्तिगत अभिव्यक्ति हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेको छ । साथै प्रधानमन्त्री शाह तथा सरकारले संसद् र आम नेपाली जनतासमक्ष तत्काल स्पष्टीकरण दिनुपर्ने माग पनि गरेको छ ।
काँग्रेसले ऐतिहासिक सन्धि, प्रमाण र कूटनीतिक वार्ताका आधारमा राष्ट्रिय स्वाभिमान र अखण्डताको रक्षा गर्दै सीमा समस्या समाधान गर्न आफ्नो पुरानै अडान दोहोर्याएको छ । छिमेकी राष्ट्रहरूसँगको आत्मीय र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै संवादमार्फत विवाद समाधान गर्नुपर्नेमा समेत जोड दिएको छ ।
प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति काँग्रेसले खेद व्यक्त गर्दै त्यसको घोर भर्त्सना गरेको छ ।


