
काठमाडौं, ०८ जेठ। नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।
संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले ११ जेठमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अन्तरक्रिया गरिने जानकारी दिए । उनका अनुसार संयोजक पौडेलको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने छ ।
कार्यवाहक मुख्य सचिव दुलालले विज्ञप्ति जारी गरेर अन्तरक्रियाका लागि सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई आवश्यक समन्वय र सहजीकरण गरी दिन अनुरोध गरेका छन् ।
अन्तरक्रियामा केन्द्रीय कार्यसमितिमा रहेका सुदूरपश्चिम प्रदेशका पदाधिकारी र सदस्यहरू, प्रदेश भित्रका जिल्लाहरूमा खटिएका ‘जरा अभियान’ का केन्द्रीय प्रतिनिधिहरू सहभागी हुने छन् ।
यस्तै प्रदेश कार्यसमितिका पदाधिकारीहरू, प्रदेश भित्रका जिल्ला सभापतिहरू, प्रदेश भित्रका प्रतिनिधि सभाका क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँगै एक/एक जना प्रविधिविज्ञ र कार्यक्रम आयोजना हुने कञ्चनपुरका पालिका पार्टी सभापतिहरू पनि सहभागी हुने दुलालले जानकारी दिए ।
