सुनसरीमा गृहमन्त्रीको प्रतिबद्धता : निष्पक्ष छानबिन हुन्छ, नागरिकलाई निराश बनाउँदैनौँ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १५, शुक्रबार (३ हप्ता अघि)
  • ५८ पटक पढिएको
सुनसरीमा गृहमन्त्रीको प्रतिबद्धता : निष्पक्ष छानबिन हुन्छ, नागरिकलाई निराश बनाउँदैनौँ

सुनसरी, १५ साउन। गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व तथा झडपको घटनालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको बताएका छन्। घटनास्थलको स्थलगत अवलोकनका लागि सुनसरी पुगेका गृहमन्त्री गुरुङले दोषी जो–कोही भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री गुरुङले वर्तमान सरकारप्रति नागरिकको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै जनताका जायज मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए। विगतमा भएका अनुसन्धानप्रति उठेका प्रश्न र असन्तुष्टिलाई ध्यानमा राख्दै यसपटक निष्पक्ष छानबिन हुने उनको दाबी थियो।

“पहिला धेरै पटक माग गर्दा पनि पूरा नभएको र छानबिन निष्पक्ष नभएको गुनासो थियो। तर यसपटक त्यस्तो हुँदैन। हामीलाई विश्वास गरेर पठाएका नागरिकलाई निराश बनाउने काम सरकारबाट हुँदैन,” गृहमन्त्री गुरुङले भने।

स्थानीयवासीले विगतदेखि दर्ताविनै ठूलो लगानीमा मस्जिद तथा मदरसा निर्माण भएको र त्यसमा राज्यको प्रभावकारी निगरानी हुन नसकेको विषय उठाएको सन्दर्भमा उनले सरकारको धारणा पनि स्पष्ट पारे।

“हामी सरकारमा आएको भर्खर तीन महिना भएको छ। विगतमा के भयो र कसले निगरानी गरेन भन्ने पुरानो जिम्मेवारी अहिलेको सरकारले बोक्न सक्दैन। तर अबका दिनमा यस्ता विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनेछ,” उनले बताए।

गृहमन्त्री गुरुङले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई संयमता अपनाउन तथा कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस