
काठमाडौ, २० जेठ। सरकारले बहालवाला र निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरुको सम्पत्ति छानबिन सुरु भएपछि बढेको चापलाई व्यवस्थापन गर्न राष्ट्रिय किताबखाना (निजामती)ले सम्पूर्ण विवरण अनलाइनमार्फत् उपलब्ध गराउन सुरु गरेको छ ।
सम्पत्ति छानबिन आयोगबाट प्रकाशित सूचनाका कारण राष्ट्रिय किताबखानामा सेवाग्राहीको चाप अत्यधिक बढेपछि विभागले अनलाइन र डिजिटल माध्यमबाटै सेवा दिन थालेको हो ।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवण कुमार पोखरेलले सेवाग्राहीको सहजताका लागि ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ (सुरुवात भइसकेको जानकारी दिए ।
उनका अनुसार कर्मचारीहरुको तलबी आम्दानीको निस्सा अनलाइनमै उपलब्ध छ । उनका अनुसार किताबखानाको वेबसाइटको होम पेजमा २०१७ सालदेखिको पद, तलब स्केल र ग्रेडको पूर्ण विवरण र ‘तलब र ग्रेड सिट’ शीर्षकमा राखिएको छ । साथै गणना क्याल्कुलेटर पनि राखिएकाले त्यसबाट लाभ लिन सकिन्छ ।
बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूले आफ्नो तलवी आम्दानीको निस्सा (विवरण) लिन विभाग आउने क्रम बढेपछि विभागले आफ्ना सेवाहरू पूर्ण रूपमा ‘फेसलेस’ बनाएको जनाएको छ । त्यसैले अब कर्मचारीहरु आफ्नो विवरण लिन कार्यालय धाइराख्नु पर्दैन ।
कर्मचारीहरूले भौतिक रूपमा उपस्थित नभई दुईवटा डिजिटल विधिहरू प्रयोग गरेर आफ्नो तलवी विवरण प्राप्त गर्न सक्नेछन्–
१. ह्वाट्सएप विधि
सेवाग्राहीले ह्वाट्सएप नम्बर ९७१४४९९२४० मा आफ्नो नाम, दर्जा र संकेत नम्बर पठाएर विवरण माग गर्न सक्नेछन् । तर यसमा ध्यान दिनुपर्ने कुरा के छ भने प्राविधिक सीमाका कारण ह्वाट्सएपमा पठाइएको विवरण २४ घण्टाभित्रै आफैं मेटिन्छ । यदि २४ घण्टाभित्र रेस्पोन्स नआएमा पुन: विवरण पठाउन विभागले अनुरोध गरेको छ ।
२. इमेल विधि
सेवाग्राहीले talabi.partibedan@pis.gov.np मा आफ्नो नाम, पद र संकेत नम्बर इमेल गरेर पनि आफ्नो विवरण प्राप्त गर्न सक्ने छन् । महानिर्देशक पोखरेलका अनुसार यो विधि थोरै झन्झटिलो जस्तो लागे दिगो, सुरक्षित र विश्वसनीय छ । यसमा डाटा सुरक्षित रहने हुनाले छिटो सेवा पाउन यो विधिको प्रयोग गर्न भनिएको छ ।
प्राविधिक त्रुटि भएमा आफैँ गणना गर्न सकिने
कामको चापका कारण र प्राविधिक कारणले कहिलेकाहीँ विवरणमा त्रुटि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले वैकल्पिक व्यवस्था समेत गरेको जनाएको छ । यदि कुनै प्राविधिक कारणले विवरण नमिलेमा सेवाग्राही स्वयम्ले वेबसाइटमा राखिएको ‘तलब र ग्रेड शिट’मा गएर पनि गणना गर्न सक्ने छन् ।
विभागले प्रविधिको अधिकतम् उपयोग गरी सेवालाई झन्झटमुक्त बनाएको जनाएको । कार्यालयमा धाएर समय खर्च नगर्न सबै सम्बन्धित बहालवाला तथा निवृत्त कर्मचारीहरूमा अपिल गरेको छ ।
