रौतहट । फाल्गुन २३ गते
तराई मधेसको सडकमा निकै धुलो उड्न थालेको छ । धुलो बिहानदेखि साँझसम्म उडिरहन्छ । आकाश खुल्ला भएको दिन बिहान केही कम धुलो हुन्छ । यसका दुई कारण छन्, पहिलो त राति अलिकति भए पनि शीत परेको हुन्छ जसले गर्दा धुलो केही भारी हुन गएको हुन्छ र दोस्रो बिहान सडकमा अलिकति सबारी साधनको चाप कम हुन्छ । अलिकति बढी हावा चल्यो कि धुलो सडकमा मात्र होइन कि घरमा पनि उत्तिकै जान थाल्दछ ।
धुलोले के कति हानि गरिरहेको छ त ? यसबारे हामी त अनभिज्ञ छौँ ।
मानव विकास सूचकांकमा रौतहट, बारा, पर्सा, सर्लाही पछाडि नै परेका जिल्ला हुन् । यी सबैमा सम्भवतः रौतहट झन् पछाडि परेको जिल्ला हो । धुलोले स्वास्थ्यमा हानि गरिरहेको हुन्छ भन्ने कुरा सर्वविदित छ । अर्को कुरा जहाँ बढी धुलो उडेको हुन्छ, त्यहाँ यात्रा गर्ने र त्यहाँ बसी समय बिताउनु पर्ने मानिसलाई नै धुलोले हानि गरेको हुन्छ । त्यहाँका मानिसको कपडामा धुलो परेर कपडा फोहोर हुने र कपडाको गुणस्तर कमजोर बनाउने गर्नुका साथै धुलो नाक र मुख भएर शरीरमा पनि प्रवेश गर्दछ । यसै गरी जिउ तथा कपालमा पनि धुलो पर्दछ । अनुहारमा धुलो परेर हैरान हुन्छ मानिस । धुलोले अन्य किसिमले पनि हानि गरिरहेको हुन्छ ।
धुलोबाट कसरी जोगिने ? कोरोनाको अत्यधिक डर भएको समयमा त सर्वसाधारणले मास्क लगाउन आनाकानी गरेको देखिएको थियो भने अहिले नाकबाट जति धेरै धुलो शरीरमा पुगे पनि खासै वास्ता गरेको हुँदैनौँ । धुलोले घरदेखि शरीरसम्म हानि गरिरहेको छ तर धुलोको नियन्त्रण हुन सकेको छैन । धुलोको नियन्त्रणको लागि खासै कतैबाट प्रयास पनि भइरहेको छैन । वर्षा नभएको धेरे महिना बितिसकेको हुनाले पानी जमिनको माटो सुख्खा भइसकेको छ, साथै सडकको धुलो उड्न सजिलो भइसकेको छ । अहिलेको अवस्थामा मानव स्वास्थ्यलाई हानि पु¥याइरहेको धुलोको नियन्त्रणको लागि सम्बन्धित सबै पक्षले योगदान दिनुपर्ने देखिन्छ ।