आरके श्रीवास्तव । रौतहट । असार १० गते
रौतहटको कटहरिया नगरपालिकाको पाँचौ बजेट अधिवेशन २०७८।७९ को छैठौं नगरसभा विहिवार सम्पन्न भएको छ ।
सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय कटहरियाको प्रांगणमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैठौं नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ ।
नगर प्रमुख सियाराम कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ४२ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि कटहरिया नगरपालिकाले आफना पाँचौ नगरसभाबाट ४२ करोड ७६ लाख २६ हजारको बजेट पारित गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय रामप्रकाश साहले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको थियो ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो । सो अवसरमा सबै वडाका वडाध्यक्षहरु,नगर कार्यपालिका सदस्यहरु,कर्मचारीहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।