नेपाली काँग्रेस देशको पुरानो राजनीतिक दल हो । यसभन्दा पहिले दलको स्थापना भएको थिएन भन्ने होइन तर अहिलेसम्म निरन्तर चर्चामा रहेको र निरन्तर जनताको विश्वास प्राप्त गरेको पार्टी भने नेपाली काँग्रेस अवश्य हो । नेपाली काँग्रेस (नेका) ले देशमा धेरैपटक सरकार बनाइसकेको छ । नेकाको इतिहासलाई यदि हेर्ने हा ेभने यसले धेरै ठूला ठूला आन्दोलन गरेको छ । यसको इतिहासमा संघर्ष धेरै महत्वपूर्ण रहेको छ । देशमा प्रजातन्त्रको पहिलो उज्यालो ल्याउने आन्दोलनको नेतृत्व नेकाले नै गरेको थियो । देशमा ठूलो ठूलो परिवर्तन ल्याउन नेकाको ठूलो योगदान रहेको छ । यसरी नेकाको इतिहास गर्विलो रहेको छ भन्दा अत्युक्ति हुँदैन । देश र विदेशमा पत्याइएको पार्टी नेका हो । यसको नेतृत्वको चयन गर्ने र आगामी नीति तथा कार्यक्रमको विस्तृत खाका तयार पार्ने अधिवेशन आगामी भदौमा हुँदैछ । देशको ठूलो लोकतान्त्रिक पार्टीको आगामी कार्यकालको लागि हुन गइरहेको अधिवेशन तथा त्यसको निर्वाचनको लागि मुख्य गरी पार्टीको सर्वोच्च पद सभापतिमा धेरैको आकाँक्षा देखिएको छ । नेपाली काँग्रेस पार्टीको सक्षम नेतृत्व गर्न सक्ने खूबी भएको भनेर र पार्टीमा आफ्नो धेरै नै लगानी रहेको भनेर नेतृत्वका आकांक्षी धेरै देखिएका छन् । एउटा प्रजातान्त्रिक पार्टीमा यस प्रकारको आकांक्षा हुनु स्वाभाविक हो । नेपाली काँग्रेस देशको ठूलो प्रजातान्त्रिक पार्टी हो भन्नेमा शंका रहेको छैन । यस पार्टीको नेतृत्व पनि प्रजातान्त्रिक प्रक्र्रियाबाट नै चयन हुने विश्वास रहेको छ । प्रजातन्त्रमा विचार फरक राख्ने र पार्टीभित्र पनि पार्टीलाई थतिशील बनाउने चाहना राख्नेहरु स्वाभाविक हुन्छन् । यसले पार्टीको जीवन सक्रिय छ भन्ने देखाउँछ । नेपाली काँग्रेसको आगामी नेतृत्वको लागि विभिन्न नेताहरुले देखाएको चासो जायज हो । सक्षम नेतृत्व आओस् भन्ने चाहना आम नेपाली नागरिकको रहेको छ ।