दिपेन्द्र जयसवाल,बारा साउन ९ गते ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत आर्थिक बर्षमा १९ करोड भन्दा बढी राजश्व उठाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरिएको जरिवाना स्वरुप १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको सूचना अधिकारी ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवालले जानकारी दिएका छन् । भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।