लकडाउनको मौका छोपी वन क्षेत्र अतिक्रमण, २२ जनाविरुद्ध मुद्दा दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
लकडाउनको मौका छोपी वन क्षेत्र अतिक्रमण, २२ जनाविरुद्ध मुद्दा दर्ता

दाङ – वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जनाविरुद्ध मुद्दा चलाएको छ । लकडाउनको मौका छोपी बबई गाउँपालिकाका– ५ बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती र घरसमेत बनाएको आरोपमा २२ जनाविरुद्ध मुद्दा चलाई कारवाही अगाडि बढाएको पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए।

अनुसन्धान अधिकृतसमेत रहेका सहायक वन अधिकृत बरालका अनुसार वन अतिक्रमण मुद्दा चलाइएकामध्ये २ जनालाई पक्राउ गरिएको छ। अन्य २० जना फरार रहेको र उनीहरूको खाजी भइरहेको छ । उनीहरुविरुद्ध दाङ—देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्दा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमतिअनुसार खोजी भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए।

‘लकडाउनको मौका छोपी उनीहरूले वन अतिक्रमण गरेका थिए’, बरालले भने, ‘पश्चिम दाङमा वन क्षेत्र अतिक्रमण गरी कब्जा गर्ने र पछि अरूलाई बेचबिखन गर्ने काम पनि भइरहेको छ।’वन अतिक्रमण हटाउन आफूहरूले पटक–पटक छलफल गर्ने, उनीहरूलाई हटाउन अनुरोध गर्नेलगायत काम गरे पनि उनीहरूले अटेर गरी अतिक्रमण बढाउँदै लैजाने र अतिक्रमित क्षेत्रमा घर–टहरा बनाउन थालेपछि मुद्दा चलाएर कारबाही प्रक्रियामा अगाडि बढेको बरालले जानकारी दिए।

वन अतिक्रमण मुद्दामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकारसमेत संलग्न छन्। सामुदायिक वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको पाइएको छ। त्यस क्षेत्रमा अतिक्रमण भएकामध्ये ६ बिघा क्षेत्र खाली गरिएको छ। वन ऐन २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई ५ वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। वन क्षेत्रको अतिक्रमणमा संलग्न रहेको पुष्टि भए त्यस्ता व्यक्ति सामुदायिक वन समितिमा बस्न नपाउने व्यवस्था पनि वन ऐनमा छ । श्रोत : देश सञ्चार

ताजा अपडेट

खोजी गर्नुहोस