रौतहट,१० पुस। धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव मंसिर ७ गते साँझ छिमेकीको मटकोर (विवाहअघि गरिने एक साँस्कृतिक कर्म) हेर्न सतोखर पोखरी पुगेकी थिइन् । मटकोर सकिएर सबै घर फर्किए, तर राखी आइपुगिनन् ।
परिवारका सदस्यहरुले राति नै सोधखोज गरे । भोलिपल्ट तालिम प्राप्त कुकुरसहित प्रहरी पनि खोजीमा जुट्यो, राखी भेटिइनन् । साँझ सतोखर पोखरी नजिकै खाल्डोमा जमेको पानी दमकलले सुकाउँदा राखीको शव भेटियो ।‘हामी दिनभर खोज्यौं, साँझसम्म नभेटेपछि खाल्डोमै हुनसक्ने आशंकामा सकाउने काम ग¥यौं ।
त्यसमै बालिकाको शव फेला भेटियो’, धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवा भन्छन् ।उनका अनुसार बलिकाको शव हेर्दा अत्यन्त क्रुरतापूर्वक हत्या भएको देखिन्थ्यो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई किशोरलाई पक्राउ ग¥यो । दुबैले अभियोग पनि स्वीकार गरे ।
प्रहरीका अनुसार दुबै किशोर लागूऔषध प्रयोगकर्ता हुन् । एक अनुसन्धान अधिकृतका अनुसार मटकोरको बेला मादक पदार्थसँगै लागूऔषध सेवन गरेका थिए । उनीहरुले रथमा खेलिरहेकी राखीलाई बेपत्ता बनाएको र बलात्कार गरेर हत्या गरेपछि शव खाल्डोमा फालेको अन्ुन्धानका क्रममा खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरमा एक बालकको लागूऔषध सेवनकर्ताबाट हत्या भएको छ । मावलीमा बस्दै आएका ११ वर्षीय आदित्य ठाकुर ३० मंसिरमा राति अबेरसम्म घर फर्किएनन् । परिवारका सदस्यले खोेजे, नभेटेपछि प्रहरीलाई खबर गरे ।प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा घरभन्दा पर आदित्य रक्ताम्य अवस्थामा फेला भेटिए ।
उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरायौं, तर उपचारकै क्रममा मृत्यु भयो’, डीएसपी रञ्जन अवाले भने । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय २६ वर्षीय सञ्जय साह र २४ वर्षीय बादललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अनुसन्धानका क्रममा आदित्य मधेश प्रदेशसभा भवन नजिकै मोबाइल चलाइरहेका बेला दुबै पुगेका थिए । लागू औषध सेवन गरेका उनीहरुले मोबाइल मागे, नदिएपछि बाँसको भाटाले हिर्काए ।
‘मरणासन्न हुने गरी कुटेपछि भागेको दुबैले वयान दिएका छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।लागूऔषधको नशामा बालकको हत्या गरेको प्रहरीको निष्कर्ष छ । धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्मा भन्छन्, ‘दुबै घटनामा आरोपी लागूऔषध सेवनकर्ता रहेको देखाएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा धनुषामा ७ जनाको हत्या भएको छ, जसमध्ये तीनवटा घटनामा लागूऔषध सेवनकर्ता संलग्न छन् ।
मधेश प्रदेशका ८ जिल्लामा ५७ जनाको हत्या भएको छ ।प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको तथ्यांकमा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ९६ जना र २०७९÷०८० मा १०६ जनाको हत्या भएको थियो । धेरै अपराधमा लागूऔषध जोडिन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् । डरलाग्दो तथ्यांक प्रहरीका अनुसार मधेश प्रदेशमा दैनिक औसत ३ जना लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा लागूऔषधसहित ९९९ जना व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा यो संख्या बढेर १ हजार २८५ पुग्यो । आर्थिक वर्ष २०७९÷०८० मा भने बढेर १ हजार ३०४ व्यक्ति लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामै ४३७ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जानकारी दिए ।
पक्राउ परेकाहरु प्रायः ३० वर्षभन्दा मुनिका छन् । उनीहरुबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरु लागू औषध बरामद भएको छ । पाँच महिनामै प्रहरीले आठवटै जिल्लाबाट २ हजार ६८३ किलो गाँजा, ४७ किलो चरेस, ८६ ग्राम र ३२७७ मिलीग्राम हिरोइन, १७ हजार २३९ ट्याबलेट, १ हजार ५३१ बोतल र १४ हजार ४०५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ ।
खुल्ला सीमाका करण भारतबाट शरीरको विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोरामा लुकाएर समेत लागूऔषध ल्याउने गरिएको सर्लाहीका एसपी प्रविन धिताल बताउँछन् ।सर्लाहीको मलंगवा नगरपालिका–८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका–५ का २२ वर्षीय इजरुल महम्मद शेष पुस १ गते दिउँसो मृत फेला परे । शरीरमा घाउखत थिएन, मुखबाट फिज आएको थियो । प्रारिम्भक अनुसन्धानबाट उनको अत्यधिक लागऔषध सेवनकै कारणले मृत्यु भएको प्रहरीको निष्कर्ष छ । उनी लागूऔषध सेवनकर्ता भएको र त्यसकै लागि सीमापारी गएर फर्किरहेको बेला मृत्यु भएको प्रहरीको भनाइ छ ।
लागू औषधको कुलतमा फसेकाहरुको उपचार र पुजर्स्थापनामा काम गर्दै आएको पुनर्जीवन नेपालका संस्थाका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेका अनुसार सबभन्दा बढी साथीहरुको लहैलहैमा लागेर कुलतमा फस्छन् । कतिपय परिवारिक माहोलले गर्दा पनि लागूऔषधको कुलतमा फस्ने गरेका छन् ।