रौतहट,१६ जेठ। रौतहटको दुर्गाभगवती गाउँपालिका–५, स्थित झाझ खोलाको झुलुङ्गे पुल नजिक झाडीमा अन्दाजी २०–२५ वर्षकी महिलाको शव फेला परेको छ। शव घोप्टो अवस्थामा भेटिएको र अनुहार चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकले फिक्का हरियो कुर्ती, सेतो बुट्टा, चाँदी जस्तो पाउजो, नाकमा पहेँलो नथ, बाँया हातमा रातो धागो, मेहन्दी र खुट्टामा आकाशे नङ पालिस लगाएकी थिइन्। स्टेपेज लेखिएको बैजनी रङको चप्पल समेत फेला परेको छ।
५ फिट २ इन्च उचाइ, गहुँगोरो वर्ण, पातलो शरीर भएकी ती महिलाको सनाखत हुन नसकेको हुँदा प्रहरी कार्यालय रौतहटले ९८५५०४०९९९ / ९८५५०९०३७४ वा १०० मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको छ। घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन् सक्ने अनुमान गरिएको छ घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


