मधेशको राजनीतिमा नयाँ सत्ता गठबन्धनको चर्चा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
मधेशको राजनीतिमा नयाँ सत्ता गठबन्धनको चर्चा

महोत्तरी,१७ कात्तिक। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनका विषयमा विभिन्न राजनीतिक विकल्पमाथि दलहरूबीच सघन छलफल भइरहेको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरू प्रदेश सरकारको स्थायित्व सुनिश्चित गर्ने विषयमा गम्भीर संवादमा रहेको र छिट्टै निष्कर्षमा पुग्ने उनको अभिव्यक्तिले मधेशको सत्ता राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भइरहेका प्रचण्डले सोमबार महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार गठनबारे भइरहेको छलफलबारे आफ्नो धारणा सार्वजनिक गरेक छन् ।

उनले प्रदेशमा स्थिर र प्रभावकारी सरकार निर्माणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको बताउँदै दलहरूबीच सहमति कायम गर्ने प्रयास जारी रहेको स्पष्ट पारे । प्रचण्डको यो अभिव्यक्ति मधेश प्रदेशमा नयाँ सरकार गठनको विषय अन्योलमा रहेका बेला आएको छ ।

प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी -जसपा) नेपाल र जनमत पार्टीले सामूहिक रूपमा राजनीतिक कसरत गरिरहेका छन् । तर, सम्भावित सत्ता साझेदार दलहरूबीच नै मुख्यमन्त्रीको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

तीन दलबीच सत्ता सहकार्यको सम्भावना देखिए पनि नेतृत्वको दाबी र शक्ति बाँडफाँटको विषयमा देखिएको मतभेदले सरकार गठन प्रक्रिया जटिल बनेको छ । एक दलले अर्को दलको नेतृत्व स्वीकार गर्न नसक्ने अवस्था रहँदा राजनीतिक सहमति निर्माणमा कठिनाइ उत्पन्न भएको छ ।

यही कारण नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अझै निर्णायक चरणमा प्रवेश गर्न सकेको छैन । प्रदेश प्रमुखको कार्यालयबाट नयाँ सरकार गठनका लागि आह्वानसमेत भइसकेको छैन । प्रदेशसभाले पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत लिनका लागि आह्वान गरेको छैन ।

यसले प्रदेशको राजनीतिक परिस्थिति थप अनिश्चित बनाएको छ । यस्तो अवस्थामा प्रचण्डले विभिन्न राजनीतिक विकल्पमा सघन छलफल भइरहेको बताउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनको अभिव्यक्तिले मधेश प्रदेश सरकार गठनमा नेकपाको भूमिका र अन्य दलहरूसँग हुन सक्ने सम्भावित राजनीतिक सहकार्यबारे चासो बढाएको छ ।

नेकपा एमाले, जसपा नेपाल र जनमत पार्टीबीच नेतृत्वको विषयमा सहमति नजुटिरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच संवाद भइरहेको प्रचण्डको भनाइले सरकार गठनको समीकरणमा थप विकल्प खुला रहेको संकेत गरेको छ ।

यद्यपि उनले कुन दलसँग, कुन विकल्पमा र कस्तो राजनीतिक सहमतिका लागि छलफल भइरहेको छ भन्ने विषय खुलाएका छैनन् । अहिलेको मुख्य राजनीतिक प्रश्न नयाँ सरकार गठन हुने वा मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वकै वर्तमान सरकारले निरन्तरता पाउने भन्ने देखिन्छ ।

सम्भावित सत्ता साझेदार दलहरूबीच सहमति कायम भए नयाँ सरकार गठनको बाटो खुल्न सक्छ । तर, नेतृत्वमा सहमति जुट्न नसके वर्तमान सरकारको निरन्तरता वा अन्य राजनीतिक विकल्पको सम्भावना पनि कायम रहने देखिन्छ ।

यसैबीच, नेकपाले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियान पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरणमा मुख्य रूपमा केन्द्रित रहेको प्रचण्डले बताएका छन् । पार्टी संगठनलाई थप व्यवस्थित, सशक्त र गतिशील बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख गर्दै उनले यसले गणतन्त्रवादी राजनीतिक शक्तिहरूबीचको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताए ।

उनले अभियान संगठन विस्तार र आन्तरिक व्यवस्थापनमा मात्र सीमित नरहेको बताए । यसले राजनीतिक चेतना अभिवृद्धि, नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुदृढीकरण र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच सहकार्यको वातावरण निर्माण गर्नसमेत योगदान पु¥याउनेछ ।

अभियानकै सिलसिलामा प्रचण्ड पछिल्ला केही दिनदेखि मधेशका विभिन्न राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय छन् । उनी सर्लाहीमा आयोजित पार्टीको जिल्ला एकता भेला, प्रशिक्षण तथा जागरण अभियान अन्तर्गतका कार्यक्रममा सहभागी भएका थिए ।

सोही क्रममा सोमबार महोत्तरीको बर्दिबासमा आयोजित मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित प्रदेशभरिका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष तथा संयोजकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अभियानको उद्देश्य, कार्यदिशा, संगठनात्मक अवस्था र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । मधेश प्रदेशमा सत्ता समीकरणको अन्योल कायमै रहेका बेला प्रचण्डको पछिल्लो अभिव्यक्तिले राजनीतिक संवादलाई थप चासोको विषय बनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस