वर्तमानकाल सम्वाददाता
जेष्ठ १६ गते ।
यस वर्षभित्रै नेपालका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गरिसक्ने सञ्चारमन्त्रीलगायत अधिकारीहरूको दाबीविपरीत सेवाप्रदायकले भने तत्काल त्यो सम्भव नरहेको धारणा राखेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी सेवाप्रदायक एनसेल दुवैले प्राविधिक, आर्थिक र व्यावहारिक तीनै किसिमले अहिले नै व्यावसायिक फाइभजी सेवा सञ्चालन गर्न कठिन रहेको प्रतिक्रिया दिएका हुन् ।
कतिपय विज्ञले फोरजी विस्तारको काम यथाशीघ्र टुंग्याएर फाइभजीमा जान सुझाइरहेका छन् । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरका गत वैशाख १९ मा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र देशका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गरिछाड्ने घोषणा गरेका थिए । ‘अब सबै नयाँ सहरमा फाइभजी नेटवर्क पुग्नुप¥यो, साह्रै ढिलो भइसक्यो,’ उनले भनेका थिए, ‘सबै पालिका र वडामा टेलिकम र आईटीको सुविधा पुग्नुप¥यो । टेलिकम क्षेत्रमा अबको युग भनेको फाइभजीको हो । आईटी क्षेत्रमा अबको युग एआईको हो ।
’फाइभजी र एआईको प्रवद्र्धन कसरी गर्ने भन्नेमा आफूहरू सचेत रहेको मन्त्री गुरुङको दाबी छ । यस वर्षभित्र फाइभजी नेटवर्कको प्रारम्भ उपत्यकाका दुई महानगरपालिका, पोखरा महानगरपालिका, अन्य नगरपालिका र बजार हुँदै नेटवर्क विस्तार गरिने बताएका थिए । उनले यस्ता योजना सुनाए पनि देशका दुई ठूला टेलिकम सेवाप्रदायक, एनसेल र नेपाल टेलिकमले भने प्रविधि विस्तारको आर्थिक भार धान्न सकिने अवस्थामा आफूहरू नरहेको दोहो¥याउँदै आएका छन् ।
फाइभजीको परीक्षण गरिए पनि कमर्सियल प्रयोजनका लागि अहिलेलाई कुनै प्रक्रिया अघि नबढेको नेपाल टेलिकमका सहायक प्रवक्ता नवीन मिश्रले जनाए । ‘पाँच ठूला सहरमा फाइभजी ल्याउने कुरा भएको छ तर कुनै औपचारिक प्रक्रिया सुरु
गरिएको छैन,’ उनले भने, ‘फाइभजीको पूर्वाधार निर्माणमा धेरै खर्च लाग्ने भएकाले अहिल्यै यसका लागि ठोस प्लान गरिएको छैन ।’
टेलिकमले आफ्नो १९औं वार्षिकोत्सवका अवसरमा २०७९ माघदेखि काठमाडौंमा फाइभजीको आन्तरिक परीक्षण थालेको थियो । नन–स्ट्यान्ड अलोन (एनएसए) मोडेलको फाइभजी परीक्षण सफल भए पनि व्यावसायिक विस्तार अहिले नै सहज नभएको मिश्रको अनुभव छ ।
सुन्धारा, पोखरा र वीरगन्जमा रहेका टेलिकमका कार्यालयमा फाइभजी उपकरण जडान गरी आन्तरिक
परीक्षण गरेको थियो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराएको थियो ।


