रौतहटमा एमाले नेता कुशवाहाद्वारा बन्दुक प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १७, शुक्रबार (९ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा एमाले नेता कुशवाहाद्वारा बन्दुक प्रदर्शन

रौतहट,१६ जेठ। गणतन्त्र दिवसजस्तो राष्ट्रिय गौरवको अवसरमा एमाले नेताले सार्वजनिक कार्यक्रममै बन्दुक प्रदर्शन गरेको दृश्य सार्वजनिक भएपछि रौतहटमा तीव्र विवाद र आलोचना सुरु भएको छ।

रौतहटको कटहरिया बजारमा बिहीबार साँझ आयोजित दीप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्वसांसद कुन्दन कुशवाहा बन्दुकसहित देखिए। सार्वजनिक रूपमा हतियार बोकेर सहभागी भएको मात्र होइन, कुशवाहाले भिडिओमा बन्दुक माथि ताकेर हवाई फायर गर्न खोजेको देखिन्छ।

फायर नभएपछि उनले बन्दुक अर्का एक व्यक्तिलाई सुम्पिएको र ती व्यक्ति भिडबाट बाहिरिएको दृश्य पनि सोही भिडिओमा प्रष्ट देखिन्छ। उक्त घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेताप्रतिको आक्रोश चुलिएको छ।

कुशवाहाले बोकेको बन्दुक कानुनी रूपमा दर्ता गरिएको हो वा होइन भन्ने विषय अझै अस्पष्ट छ। रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक राईले घटनाबारे आफूलाई जानकारी नभएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्। “बन्दुकसहित सहभागी भएको पुष्टि भएपछि छानबिन हुनेछ,” राईले भने, “प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।”

गणतन्त्र दिवसको नाममा शान्तिपूर्ण कार्यक्रम हुनुपर्नेमा हतियार प्रदर्शन भएको भन्दै सर्वसाधारण र कानुनी विज्ञहरूले घटनाको कडा आलोचना गरिरहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस