सर्लाही,२० जेठ। सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१७, कटानीमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार, दुर्घटनामा मलंगवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो।
घटनास्थलबाट प्राप्त जानकारी अनुसार, बिहान करिब २:४५ बजे ना ४६ प २८२० नम्बरको मोटरसाइकल कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा वडा कार्यालय नजिकैको नहरको पुलमा ठोक्किएर तल खसेको थियो।
दुर्घटनामा रायको टाउको, निधार र आँखामा गहिरो चोट लागेको थियो। उनलाई तत्काल भेनस अस्पताल, बरहथवामा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि एलएस न्यूरो अस्पताल, बारा पठाइएको थियो। तर, अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


