वीरगञ्ज, २० भदौ। पर्सा जिल्ला अदालतले खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा प्रश्न गरेपछि पक्राउ परेकी टिकटक प्रयोगकर्ता तथा बिरगंज निवासी किरण साहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार ५ हजार रुपैयाँ धरौटीमा साहलाई रिहा गर्ने आदेश दिएको हो। गत शनिबार पक्राउ परेकी साहलाई प्रहरीले मंगलबारसम्म थप म्याद लिएर अनुसन्धान गरिरहेको थियो। अनुसन्धान सकिएपछि बुधबार सरकारी वकिल कार्यालयमा फाइल बुझाइएको र त्यसपछि अदालतमा बहस भएको थियो।
वीरगन्जको मुर्लीमा बस्दै आएकी बारा कलैयाकी किरण साहले वीरगन्जमा फैलिएको हैजाको विषयलाई लिएर मन्त्री यादवलाई टेलिफोनमार्फत कठोर शब्दमा प्रश्न गरेकी थिइन्। त्यस क्रममा धम्कीपूर्ण भनाइसमेत प्रयोग गरेको भन्दै मन्त्री यादवको सचिवालयले उजुरी दिएको थियो।
सो उजुरीका आधारमा प्रहरीले साहलाई पक्राउ गरी ‘मन्त्रीलाई ज्यान मार्ने धम्की’, ‘झुटा अफवाह फैलाएको’ र ‘विद्युतिय कारोबारसम्बन्धी अपराध’ गरी तीन मुद्दा दर्ता गरेर अनुसन्धान थालेको थियो।


