सुनसरी, २० भदौ। सुनसरीस्थित झुम्का कारागारमा चार दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ। एक जनामा उच्च ज्वरो र दुई जनाको श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएपछि उपचारका क्रममा मृत्यु हुने भएको हो । १३ जना कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि जिल्ला अस्पताल इनरुवा पुर्याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको हो । यादवलाई केही दिनदेखि ज्वरो आएको थियो । निमित्त कारागार प्रमुख राम निरौलाले यादवको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
गत सोमबार एकैदिन दुई जना कैदीबन्दीको मृत्यु भएको थियो । कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउापालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो । उराव र राईको श्वासप्रस्वासमा समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको निमित्त जेलर निरौलाले बताए ।
कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएपछि बुधबार कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको निमित्त जेलर निरौलाले बताए । सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार दुवै ब्लकका कैदीबन्दीको स्वास्थ्य जाँच रिपोर्ट आएपछि कारण खुल्ने जानकारी दिए ।
कैदीहरुमा एक सातायता उच्च ज्वरो, स्वासप्रश्वासमा समस्या, बान्ता हुने जस्ता लक्षण देखिएको थियो । कैदी फरार प्रकरणपछि विवादमा मुछिएका जेलर सुवास लामिछाने बिदामा बसेका कारण स्वास्थ्य शिविर सञ्चालन गर्न ढिलाइ भएको थियो ।
बिहीबार गम्भीर बिरामी देखिएका १३ जनालाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । चिकित्सकले भाइरल ज्वरोको आशंका गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार कारागारको बी ब्लकमा बस्ने कैदीबन्दी बढी बिरामी देखिएका छन् । १ हजार ६ सय जना क्षमता भएको झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी अहिले १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् ।


