रौतहट,२३ भदौ। गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बोक्सीको आरोप लगाएर एक महिलामाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ ।
दिनेश साह कानुकी अन्दाजी ४० वर्षीया श्रीमती संगीता देवीको मृत्यु भएपछि मृतकका परिवारले छिमेकी अन्दाजी ५५–६० वर्षीया सुशीला देवीमाथि टुनामुना लगाएको आरोप लगाउँदै कपाल काटेर, मलमुत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोप लगाएका छन।
आइतबार बिहान संगीता देवी अचानक बिरामी परिन् । परिवारका सदस्यहरूले उनलाई उपचारका लागि गरुडास्थित रोमा हस्पिटलमा लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बिहान करिब ७ बजे बाटोमै उनको मृत्यु भएका थिए।
मृत्युपछि मृतकका श्रीमान् दिनेश साह कानु, १८ वर्षीय छोरा गोलु साह, छिमेकी विक्रम साहसहित ७–८ जनाले बोक्सीको आरोप लगाउँदै छिमेकी महिलामाथि सामूहिक कुटपिट गरेका थिए ।
सामूहिक कुटपिटबाट घाइते भएकी सुशीला देवीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न सबै व्यक्ति फरार छन् र खोजतलास भइरहेको छ ।
काजक्रियामा रहेका छोरामाथि प्रहरीको बल प्रयोग
यसैबीच मृतक संगीता देवीका छोरा प्रेम साह कानु आमाको दाह संस्कारपछि हिन्दू परम्परा अनुसार क्रियामा बसेको अवस्थामा प्रहरीले घरमै पसेर कुटपिट गर्दै नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।
स्थानीयवासीका अनुसार काजक्रियामा रहेका व्यक्तिलाई बल प्रयोग गरी पक्राउ गर्नु गैरमानवीय भएको भन्दै आक्रोशित बनेका गाउँलेहरूले आईतबार साझ इलाका प्रहरी कार्यालय गरुडाको अगाडि प्रदर्शनसमेत गरेका थिए ।
डिएसपी कार्कीका अनुसार बोक्सी आरोपमा महिलामाथि कुटपिट गर्ने समूहको खोजतलास तीव्र पारिएको छ । पीडित पक्षले दोषीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
प्रहरीले बोक्सी आरोपमा अमानवीय व्यवहार गर्नेहरूमाथि मुद्दा चलाउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


