हिन्दु धर्मविरुद्धका टिप्पणीको विरोध गर्दै वीरगञ्जमा विशाल प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
हिन्दु धर्मविरुद्धका टिप्पणीको विरोध गर्दै वीरगञ्जमा विशाल प्रदर्शन

हिन्दु धर्म, देवी-देवता, पर्व तथा मन्दिरहरूको विषयमा अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै सोमबार वीरगञ्जमा हिन्दु समाजको आह्वानमा हजारौँको सङ्ख्यामा विशाल जुलुस तथा प्रदर्शन भएको छ ।

हिन्दु समाज तथा विभिन्न धार्मिक सङ्घ-संस्थाहरूको सहभागितामा आयोजित प्रदर्शनमा युवा, महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो ।

बिहान गहवामाई मन्दिर अगाडिबाट सुरु भएको जुलुस माइस्थान, आदर्शनगर हुँदै अलखिया चोकतर्फ अघि बढेको थियो । तर, सम्भावित धार्मिक झडपलाई मध्यनजर गर्दै प्रहरीले जुलुसलाई छपकैया क्षेत्रतर्फ जान रोकेर घडिअर्वा पोखरीतर्फ मोडेको थियो ।

घडिअर्वा, माइस्थान चोक र घण्टाघर हुँदै जुलुस जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले “हिन्दु धर्ममाथि टिप्पणी गर्नेलाई कारबाही गर”, “हिन्दु-हिन्दू भाइ-भाइ” जस्ता नारा लगाएका थिए । उनीहरूले धार्मिक सद्भाव र सामाजिक शान्ति खलबल्याउने गतिविधिहरू अस्वीकार्य रहेको भन्दै राज्यबाट कडा कदम चाल्न माग गरेका थिए ।

जुलुसमा सहभागी हिन्दु अगुवा सन्तोष सर्राफले विदेशी भूमिमा बसेर हिन्दु धर्म, देवी-देवता र पर्वहरूमा अभद्र टिप्पणी गर्ने व्यक्तिहरूले समाजलाई विभाजित गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले यस्ता व्यक्तिमाथि कारबाहीका लागि सरकारले कूटनीतिक माध्यमबाट पनि पहल गर्नुपर्ने बताए । “हिन्दु समुदायमाथि निरन्तर आक्रमण भएपछि बाध्य भएर हामी सडकमा उत्रिएका हौँ,” सर्राफले भने ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले व्यापक सुरक्षा सतर्कता अपनाएको थियो । प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । यसैबिच, हिन्दु समाजका अगुवाहरू र प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा गठित विशेष सुरक्षा समितिबिच धार्मिक आस्था तथा भावनामा चोट पुर्‍याउने गतिविधिहरूलाई कानुनी दायरामा ल्याउने विषयमा छलफल सुरु भएको छ ।

यसअघि आइतबार साँझ पनि हिन्दु युवाहरूले वीरगञ्जमा मोटरसाइकल र्‍याली निकालेका थिए । प्रदर्शनकारीहरूले यस्ता अभिव्यक्ति तथा गतिविधिहरू दोहोरिन नदिन राज्यलाई सचेत गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस