वीरगञ्ज, २१ पुस। वीरगञ्जको छपकैया क्षेत्रस्थित ईदगाहचोकमा सोमबार एउटा मोटरसाइकलमा आगजनी गरिएको छ। स्थानीय स्रोतका अनुसार मुस्लिम समुदायका केही व्यक्तिहरूले मोटरसाइकलमा आगो लगाएका हुन् । घटनापछि वीरगञ्जको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ।
यसैबिच हिन्दु धर्म, देवी–देवता, पर्व तथा मन्दिरहरूप्रति अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै हिन्दु समाजको आह्वानमा वीरगञ्जमा विशाल जुलुस तथा प्रदर्शन गरिएको छ । हजारौँको सङ्ख्यामा सहभागी भएको उक्त प्रदर्शनमा हिन्दु समाज तथा विभिन्न धार्मिक सङ्घ–संस्थाका प्रतिनिधि, युवा, महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थिति थप संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ । निषेधाज्ञा लागू गरिएको क्षेत्रको चार किल्ला पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट तोकिएको छ। उक्त क्षेत्र वीरगञ्जको केन्द्रीय तथा अत्यन्त व्यस्त क्षेत्र मानिन्छ ।
स्थिति नियन्त्रणमा लिन जनपथ प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति परिचालन गरिएको छ । घटनास्थलको अवस्थाबारे बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी तथा नेपाली सेनाको टोली समेत स्थलगत रूपमा खटिएको जनाइएको छ ।
निषेधाज्ञाका बिच पनि वीरगञ्जको विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारीहरूबिच झडप भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक आफै फिल्डमा उत्रिएका छन् । प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि केही सेल अश्रुग्याँस पनि चलाइएको छ ।
अर्कोतर्फ वीरगञ्जको अधिकांश स्थानमा जनजीवन सामान्य रहेको छ । यहाँको घण्टाघर चोक, माइस्थान चोक, बसपार्क चोकलगायतका स्थान शान्तिपूर्ण रहेको छ । प्रशासनले सर्वसाधारणलाई शान्ति, संयम र सतर्कता अपनाउन आग्रह गर्दै अफवाहमा नलाग्न र सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ ।


