वीरगञ्ज, २२ पुस। धनुषाको मस्जिद तोडफोड घटनाबाट उत्पन्न धार्मिक तनाव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठक सकिएसँगै हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टै छलफल सुरु भएको छ । प्रशासनले दुवै पक्षका धारणा सुन्दै शान्ति–सुरक्षा कायम राख्न आवश्यक कदम चाल्ने जनाएको छ ।
बैठकमा हिन्दु अगुवाहरूले विदेशमा बसेर हिन्दु धर्ममाथि नकारात्मक टिप्पणी गर्ने नदिम अन्सारीलाई पक्राउ गर्न माग गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत गरिएका यस्ता टिप्पणीले धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै तत्काल कानुनी कारबाहीको आग्रह गरेका हुन् । बैठकमा धार्मिक सहिष्णुता कायम गर्ने र तनाव न्यूनीकरणका उपायहरूबारे पनि व्यापक छलफल भएको छ ।
त्यसअघि सम्पन्न भएको सर्वपक्षीय बैठकबाट सामूहिक प्रेस विज्ञप्ति जारी गर्ने, सामाजिक सद्भाव कायम राख्ने तथा एक–अर्कामाथि आरोप–प्रत्यारोप नगर्ने सहमति भएको छ । साथै, कुनै पनि कार्यक्रम आयोजना गर्न अनिवार्य रूपमा प्रशासनको अनुमति लिनुपर्ने र अनुमति बिना कार्यक्रम गरे कडा कारबाही गर्ने निर्णय भएको छ ।
बङ्गलादेशमा घटेका घटनाबारे पर्सा जिल्लामा प्रदर्शन गर्न नपाइने तथा मदरसाहरूको प्रशासनिक अनुगमन गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू पनि बैठकबाट भएका छन् । प्रशासनले सबै सहमति तथा समुदाय स्तरीय छलफलको निष्कर्षपछि कर्फ्युसम्बन्धी थप निर्णय सार्वजनिक गर्ने जनाएको छ ।
यसअघि वीरगञ्जको अवस्था सामान्य नभएपछि कर्फ्युको अवधिलाई साँझ ६ बजेसम्मका लागि लम्ब्याइएको छ । त्यस्तै वीरगञ्जका संवेदनशील क्षेत्रहरूमा सुरक्षा निकायको बाक्लो उपस्थिति कायम छ ।
तनाव धनुषाको कमला नगरपालिका–६ सखुवा मदनमा गत शनिवार मस्जिद तोडफोड तथा धार्मिक ग्रन्थ जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुरु भएको हो । उक्त घटना टिकटकमा हिन्दु धर्मप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा दुई मुस्लिम युवामाथि कारबाही माग्दै भएको बताइएको छ । त्यसको विरोधमा मुस्लिम समुदायले प्रदर्शन गरेपछि हिन्दु समुदायको प्रतिक्रिया स्वरूप स्थिति उग्र बनेको थियो । सोमबार प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको थियो ।
प्रशासनले दुवै समुदायलाई संयम अपनाउन, अफवाह नफैलाउन र सुरक्षा निकायलाई सहयोग गर्न निरन्तर आग्रह गरेको छ । सर्वसाधारणलाई धैर्य गर्न अपिल गर्दै प्रशासनले स्थिति छिट्टै सामान्य बनाउने प्रयास जारी राखेको जनाएको छ ।


