
वीरगञ्ज, २२ पुस। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार र केही विदेशी शक्तिहरू आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्गलवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो ब्रिफिङ गरेका हुन् । बैठकमा सहभागी नेताहरूका अनुसार ओलीले भने, “देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन । एमाले र काँग्रेस नजिकिँदै गएपछि सरकार आफैँ निर्वाचन सार्ने वा चरणबद्ध रूपमा गराउने षड्यन्त्रमा लागेको छ । यसमा केही विदेशी शक्तिहरूको पनि संलग्नता छ ।”
ओलीले वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको औँल्याउँदै नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए । उनले न्यायाधीशहरूमाथि धम्की र संसद् पुनर्स्थापना हुन नदिन दबाब बढाइएको पनि उल्लेख गरे ।
बैठकमा ओलीले रवि लामिछाने र बालेन शाहजस्ता केही व्यक्तिहरूलाई वैदेशिक शक्तिको दलालीमा संलग्न रहेको आरोप लगाए । उनले भने, “कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन् ।” उनले भदौ २३ र २४ गतेका घटनालाई महान् उपलब्धि दाबी गर्ने साहस नभएको पनि टिप्पणी गरे ।
यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई थप जुझारु र सशक्त बनाउनुपर्नेमा जोड दिँदै ओलीले प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्न निर्देशन दिए । उनले टोल-टोलमा ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’ गठन गर्दै निर्वाचनको तयारीलाई आन्दोलनकै मैदानबाट अघि बढाउनुपर्ने बताए ।
एमालेले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र समयमै सम्पन्न गराउन दबाब बढाउने रणनीति अख्तियार गर्ने बैठकमा सहमति भएको स्रोतले जनाएको छ ।
