मोटरसाइकल चालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २२, मंगलबार (१ महिना अघि)
  • ४ पटक पढिएको
मोटरसाइकल चालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

रौतहट, २२ पुस। रौतहटको बौधिमाई नगरपालिका–२ मा इभी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीयवासी र मृतकका आफन्तले दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेका छन्।

मंगलबार बिहानदेखि बौधिमाईको कोपवा चौकमा टायर बाल्दै चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले न्याय सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा सोमबार बिहान इभी भ्यान र मोटरसाइकल ठोक्किँदा बौधिमाई नगरपालिका–२, इनर्वा गाउँ निवासी २५ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकका दाजु उपेन्द्र बैठाले इभी भ्यान चालकले जानीजानी सडकको छेउबाट मोटरसाइकललाई ठक्कर दिएको आरोप लगाउँदै दोषीलाई कडा कारबाही र उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान परिवारले लिएको बताए।

घटनापछि इभी भ्यान चालक पक्राउ परे पनि गाडीका साहु बौधिमाई नगरपालिका–२, इनर्वा निवासी राकेश जैसवाल सम्पर्कविहीन रहेको पीडित पक्षको दाबी छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्रराज कँडेलका अनुसार दुर्घटनामा संलग्न इभी भ्यान र चालक राजपुर नगरपालिका–५ निवासी २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

उनका अनुसार हाल काठमाडौंमा रहेका गाडी साहु राकेश जैसवाललाई जानकारी गराइसकिएको छ। उनी मंगलबार बिहान ११ बजेको फ्लाइटमार्फत सिमरा हुँदै जिल्ला प्रहरी कार्यालय गौर आइपुगेपछि क्षतिपूर्तिको विषयमा छलफल हुने प्रहरीको भनाइ छ।

मृतकको शव सोमबारदेखि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको भए पनि पीडित परिवारको अडानका कारण हालसम्म पोस्टमार्टम हुन सकेको छैन।

दुर्घटनापछि उत्पन्न तनावलाई ध्यानमा राख्दै सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। स्थानीयवासीका अनुसार पछिल्लो समय बिहानैदेखि लाग्ने बाक्लो हुस्सु–कुहिरोका बीच सवारी साधन तीव्र गतिमा चलाइँदा रौतहटमा दैनिकजसो दुर्घटना हुने गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस