

रमेश कुमार यादब
पुस २२ गते ।
बृन्दावन नगरपालिकामा पछिल्लो समय विकास निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्। नगरवासीलाई आधारभूत सेवा सहज र भरपर्दो रूपमा उपलब्ध गराउने लक्ष्यसहित नगरपालिकाले विभिन्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ। यही क्रममा बृन्दावन नगरपालिका–८ अन्तर्गत आकडपाथड क्षेत्रमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकी परियोजनाका लागि आवश्यक डिप बोरिङ्ग कार्यको शिलान्यास गत मंगलबार गरिएको थियो। नगरपालिकाका अनुसार डिप बोरिङ्ग निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ।
परियोजनाको स्थलगत अनुगमनका क्रममा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले काम उल्लेखनीय प्रगतिसहित अघि रहेको जानकारी दिनु भयो। उहाँका अनुसार हाल डिप बोरिङ्गमा आवश्यक पाइप जडान गर्ने काम भइरहेको छ, जुन छिट्टै सम्पन्नगरिनेछ।नगर प्रमुख कुर्मीले विकास निर्माणका सवालमा नगरपालिकाले कुनै पनि प्रकारको दबाब, सम्झौता वा व्यक्तिगत स्वार्थलाई स्थान नदिने स्पष्ट पार्नु भयो।
“हामी विकासको मार्गमा दृढताका साथ अगाडि बढिसकेका छौँ। नगरवासीलाई आधारभूत सेवा विशेष गरी स्वच्छ खानेपानी उपलब्ध गराउने विषयमा कुनै प्रकारको सम्झौता हुँदैन,” उहाँले अनुगमनका क्रममा बताउनु भयो।
डिप बोरिङ्गको सम्पूर्ण काम सम्पन्न भएपछि शुद्ध खानेपानी ओभरहेड ट्यांकीसँग पाइप जडान गरी नियमित रूपमा स्वच्छ खानेपानी वितरणको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।यस आयोजनाको सफल कार्यान्वयनपछि वडा नम्बर ८ सहित आसपासका बासिन्दाहरूले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधान हुने विश्वास गरिएको छ।
स्थानीयवासीहरूले नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको यस खानेपानी परियोजनाले दैनिक जीवन सहज बनाउने अपेक्षा व्यक्त गरेका छन्।उनीहरूका अनुसार नियमित र स्वच्छ खानेपानी उपलब्ध भएपछि स्वास्थ्य, समय बचत र जीवनस्तरमा सकारात्मक प्रभाव पर्नेछ।
बृन्दावन नगरपालिकाले आगामी दिनहरूमा पनि यस्तै विकासमुखी तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरूलाई निरन्तरता दिने जनाएको छ। नगरपालिकाको सक्रियता र योजनाबद्ध कार्यान्वयनले बृन्दावनलाई क्रमशः समृद्ध र सुविधासम्पन्न नगरतर्फ अघि बढाइ
रहेको स्थानीयवासीहरूको भनाइ छ।
