
वीरगञ्ज, २३ पुस। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा अज्ञात समूहको आक्रमणबाट दुई किशोर घाइते भएका छन्। मंगलबार राति सडक छेउमा आगो ताप्दै बसेका बेला अपरिचित व्यक्तिहरूको समूहले अचानक कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा स्थानीय १८ वर्षीय सुरज महतो र विकास कुमार महतो घाइते भएका हुन्।
प्रहरीका अनुसार प्रारम्भिक जानकारीमा घाइतेको नाम वीरज र विकास भनिए पनि अनुसन्धानपछि मुख्य घाइते सुरज महतो रहेको पुष्टि भएको छ। सुरजको पेटमा दुई स्थानमा चोट लागेको छ भने विकासलाई सामान्य चोटपटक लागेको छ। दुवै घाइतेलाई स्थानीयको सहयोगमा वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था हाल सामान्य छ र उपचार जारी छ।
घाइते सुरज महतोले घर नजिकैको खाली प्लटमा साथीहरूसँग आगो तापिरहेको बेला पाँच–छ जनाको समूह आएर एक्कासि आक्रमण गरेको बताएका छन्। ‘चक्कुजस्तो धारिलो हतियार र बाँसले कुटपिट गरियो, किन आक्रमण भयो थाहा छैन,’ उनले बताए।
त्यस्तै, विकास कुमार महतोले पनि आफूलाई लडाएर कुटपिट गरिएको बताए। स्थानीय स्रोतका अनुसार भिश्वा र फुलबारी टोलतर्फका केही युवाहरूको संलग्नता हुनसक्ने आशंका गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार घाउको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग भएको देखिए पनि घटनास्थलमा चक्कु फेला परेको छैन। आक्रमणकारीहरू प्रहरी पुग्नुअघि नै फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको कारण खुल्न बाँकी रहेको र संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजतलास तीव्र पारिएको जनाएको छ।
