विराटनगर, २३ पुस। विराटनगर महानगरपालिका–११ रोडशेषस्थित ‘भिन्तुना गीत गजल’मा कार्यरत १६ वर्षीया बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा प्रहरीले सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ।
गजलमा काम गर्ने किशोरीलाई भारतीय नागरिकहरूसँग यौनजन्य क्रियाकलाप गर्न बाध्य पार्ने र शारीरिक यातना दिने गरेको उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
झापाको कनकाई नगरपालिका–१ घर भएकी ती किशोरी विगत पाँच महिनादेखि उक्त गजलमा काम गर्दै आएकी थिइन्। गजल सञ्चालक र त्यहाँ कार्यरत अर्का व्यक्ति मिलेर उनलाई एउटा कोठामा बन्धक बनाई शारीरिक यातना दिने तथा भारतीय ग्राहकसँग यौनसम्पर्क राख्न लगाउने गरेको खुलेको छ। गोप्य सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले पीडित किशोरीको उद्धार गरेको थियो।
पीडितले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार गजल सञ्चालक विराटनगर–१२ का ३३ वर्षीय पर्शुराम कामत र सोही गजलमा काम गर्ने विराटनगर–८ का २६ वर्षीय मनिष ठाकुरलाई पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।


