काठमाडौं, २८ पुस। पूर्व मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का निवर्तमान सांसद प्रदीप यादव नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा जुटेका छन् । स्रोतका अनुसार यादवले आजै काठमाडौंमा आयोजित एक अनौपचारिक कार्यक्रममा एमाले प्रवेश गर्ने निर्णय लिएका छन् ।
केही दिनअघि मात्र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) त्यागेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका यादव पार्टीभित्रै असन्तुष्ट बनेका हुन् ।
आइतबार जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको १२ बुँदे एकता सम्झौतापछि गठित ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा उनलाई स्थान दिइएन । यादवसँगै जसपा नेपालमा प्रवेश गरेकी रेणु कुमारी यादवलाई भने समितिमा समेटिएको छ । यादव जसपामा उपमहासचिवको पदमा थिए ।
पर्सा क्षेत्र नम्बर १ बाट लगातार दुई पटक सांसद निर्वाचित भइसकेका तथा तीन पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका यादव आसन्न फागुन २१ गते हुने उपनिर्वाचनमा सोही क्षेत्रबाट पुनः उम्मेदवारी दिने तयारीमा छन् । तर पार्टीले सो क्षेत्रबाट जिल्ला अध्यक्ष रामनरेश यादव वा पूर्व मुख्यमन्त्री लालबाबु राउतमध्ये एकलाई अघि सार्ने तयारी गरेको बुझिएको छ । जिल्ला समितिले उम्मेदवार सिफारिस गर्दा समेत यादवको नाम छुटाएको थियो ।
केन्द्रीय समितिमा स्थान नपाउनुका साथै आफूले जित्दै आएको क्षेत्रबाट टिकट नपाउने अवस्था देखिएपछि यादवले जसपा नेपालसँगको सम्बन्ध टुंग्याउने निर्णय लिएको स्रोतको दाबी छ । दुई दिनअघि वीरगञ्ज आएका यादवले आफू निकट नेता–कार्यकर्तासँग छलफल गर्दा सकारात्मक प्रतिक्रिया पाएपछि स्रोतका अनुसार एमाले प्रवेशको निर्णय लिएका हुन् ।
यद्यपि, यादवको एमाले प्रवेशबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यस विषयमा यादवसँग बुझ्दा उनले अहिले पार्टी परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारे । एमाले प्रवेश गर्न लागेको भन्ने हल्ला पूर्ण रूपमा निराधार रहेको उनले दाबी गरे ।


