रौतहट, २८ पुस। रौतहट र सप्तरी जिल्लाका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको परोहा नगरपालिका–७ बसिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेटसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बारा जिल्लाको निजगढ नगरपालिका–७ निवासी ३० वर्षीय शेखर पुलामी मगर रहेका छन् भने अर्का एक जनाको विवरण प्रहरीले खुलाएको छैन ।
प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिएल ८८४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध बरामद गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमहाबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरुङ्गा नगरपालिका–७ चकदह निवासी २२ वर्षीय पारसमनी चौधरी र २० वर्षीय विनय चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलीले स.४ प ७७२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा डाइजेपाम १८ एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १८ एम्पुल बरामद गरेको हो ।
प्रहरीका अनुसार दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।


