धनगढी, २९ पुस। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो संगठनलाई परिचालन गरेको छ ।
यस पटक चुनावमा मुख्य शक्ति र नयाँ उदाएका पार्टीहरूसँग कडा प्रधिस्पर्धा गर्न भिजन भएका युवा नेताहरूलाई मैदानमा उतार्ने राप्रपाको दाबी छ ।
सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याएर घरदैलो अभियानलाई तीब्रता दिएको राप्रपाले यसपटक पुस्तान्तरणसहितको उम्मेदवारीमा जोड दिइएको जनाएको छ ।
राप्रपा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य खिमादेवी विष्टका अनुसार, पार्टीले चुनावको तयारी थालिसकेको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार पुस मसान्तभित्र सक्नुपर्ने वडा तथा नगर अधिवेशनहरू जहाँ–जहाँ सम्पन्न भइसकेका छन्, त्यहाँबाट सिधै चुनावी प्रचारमा होमिन र बाँकी रहेका ठाउँका अधिवेशन स्थगित गरेर भए पनि निर्वाचनमा केन्द्रित हुन निर्देशन दिइएको छ ।
‘हामी फागुन २१ गतेको चुनावका लागि तयारी अवस्थामा छौँ,’ विष्टले भनिन्, ‘सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छौँ ।’
राप्रपाले यसपटकको निर्वाचनमा परम्परागत नेताहरूभन्दा समाजमा विशिष्ट योगदान पु-याएका व्यक्तित्व र जोश भएका युवाहरूलाई प्राथमिकतामा राखेको विष्टले जानकारी दिइन् । उनका अनुसार हरेक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १ देखि ६ जनासम्म आकाङ्क्षीको नाम सिफारिस भएको छ ।
कैलाली–५ मा ६ जना, कैलाली–४ मा ३ जना र कैलाली–२ मा ३ जनाको नाम सिफारिस भएको विष्टले जानकारी दिइन् । यस्तै, कञ्चनपुर, बैतडी, बझाङ, अछाम र बाजुरा लगायतका जिल्लाबाट पनि सर्वसम्मत वा बहुमतका आधारमा उम्मेदवारको नाम केन्द्रमा पठाइएको उनको भनाइ छ ।
कैलाली–४ बाट राप्रपाले युवा नेता कमल बम (रजवार)लाई पनि उम्मेदवारमा सिफारिस गरेको छ । उनी विद्यार्थी नेता हुन् ।
विष्टका अनुसार पार्टीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न खोजेकाले युवालाई अवसर दिएको हो । त्यस्तै, कैलाली–१ मा युवा नेता लुकेन्द्र कुँवरलाई उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
कञ्चनपुर–३ बाट पूर्णबहादुर चन्दलाई उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी पार्टीका सहायक प्रवक्ता र अनुभवी नेता हुन् । यस्तै कञ्चनपुर–२ बाट पार्टीका केन्द्रीय सदस्य सम्राट सिंहको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ ।
यसक पटक सुदूरपश्चिममा राप्रपाको चर्चाको केन्द्रविन्दुमा बैतडी जिल्ला छ । पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला भएकाले पनि यहाँ पार्टीको प्रतिष्ठा दाउमा छ । यसपटक बैतडीमा राप्रपाले पूर्वप्रधानमन्त्री चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।
भुपेनको उम्मेदवारीले बैतडीमा मात्र नभई समग्र सुदूरपश्चिममै एक खालको तरङ्ग ल्याएको छ । पेसाले आईटी इन्जिनियर, पाइलट र अभिनेतासमेत रहेका भुपेन सेलिब्रेटी छवि र स्पष्ट राजनीतिक भिजनका साथ घरदैलोमा व्यस्त छन् ।
राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टका अनुसार भुपेनको उपस्थितिले पार्टीको संगठन विस्तारमा ठुलो मद्दत पुगेको छ । भुपेनले मतदातासँगको भेटघाटमा पैसा र प्रलोभनभन्दा भिजन हेरेर भोट हाल्न अपिल गरिरहेका छन् ।
‘अहिलेको अवस्थामा कसले काम गर्न सक्छ र कोसँग स्पष्ट भिजन छ भन्ने कुरा हेरेर मत दिनुस् । पैसाको पछि नलाग्नुस्,’ भुपेनले घरदैलोका क्रममा मतदातालाई भन्ने गरेका छन् ।
पालिका अधिवेशनका क्रममा जिल्लाका १० वटै स्थानीय तह पुगेका भुपेनले राप्रपाको संगठन विगतको तुलनामा निकै बलियो र व्यापक भएको दाबी गरेका छन् । बुवाको विरासत मात्र नभई आफ्नो दक्षता र आधुनिक सोचका कारण पनि उनी युवा मतदातामाझ लोकप्रिय बन्दै गएको स्थानीय नेताहरू बताउँछन् ।
प्रदेश सभा सदस्य विष्टका अनुसार प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले पुराना वा नयाँ भन्ने ध्रुवीकरणका बिच पनि राप्रपा जोसूकैसँग प्रतिस्पर्धा गर्न नडराउने उनको भनाइ छ ।
‘हामी कसैसँग डराएका छैनौँ । जनताले पुराना ठुला दलहरूको विकल्प खोजिरहेका छन् र त्यो विकल्प राप्रपा नै हो भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भनिन् ।
अहिलेसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएको र पार्टी एक्लै चुनाव लड्ने मनस्थितिमा रहेको विष्टले स्पष्ट पारिन् । ‘अहिलेसम्म हामीले कसैसँग सहकार्य गर्ने निर्देशन पाएका छैनौँ । हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहित सुशासनको मुद्दा लिएर जनतामाझ गएका छौँ,’ उनले भनिन् ।


